
काठमाडौं : कोभिड-१९ का कारण प्रभावित नाट्य संस्थाहरुले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रहसहित नेपाल भरका नाटकघरसहितका नाट्य संस्थाहरुको अगुवाईमा ९ बुँदे मागसहित संयुक्त पत्र बुझाइएको हो।
प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा समक्ष बुझाइएको पत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरुले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन गरेको प्रयासहरु माथि प्रकाश पारेका छन्। साथै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले त्यस विषयमा वेवास्ता गरेको गुनासो समेत गरिएको छ।
वर्तमान समयमा रङ्गकर्मीहरु संकटबाट गुज्रिरहेकोले पलायन हुने अवस्थामा समेत पुग्दै गरेको उल्लेख गर्दै तत्काल यसतर्फ सचेत हुन प्रतिष्ठानलाई रङ्गकर्मीहरुले आग्रह गरेका हुन्।
नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्गकर्मप्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रङ्गमञ्चले यस्ता विविध समस्या भोग्दै आएपनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको स्वीकार्दै ध्यानकर्षण पत्रको स्वागत गरे। उनले भने,'महामारीबाट रङ्गकर्मीहरु निकै प्रभावित भएका छन्। यसको समाधानको उपाय खोजी गरिरहेका छौं।'
ध्यानाकर्षण पत्र बुझाउन थिएटर हवको संयोजनमा देशभरका ५० सक्रिय नाट्य संस्थाहरुको प्रतिनिधि तथा स्वतन्त्र रङ्गकर्मीहरु पुगेका थिए।