PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माधव नेपालले बाँडेको 'कोरोना डिजिटल बुटी', स्वास्थ्यका लागि घातक : तथ्यभन्दा हल्ला बढी



विधुर ढकाल

माधव नेपालले बाँडेको 'कोरोना डिजिटल बुटी', स्वास्थ्यका लागि घातक : तथ्यभन्दा हल्ला बढी

काठमाडौं : लामो सयम विवादकाबीच स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बुधवार सुरु भयो। विश्व कोभिड-१९ को माहामारीमा जुधिरहेको छ। वैज्ञानिकहरु औषधि र भ्याक्सिनको खोजमा जुटिरहेका छन्।

बुधवारको बैठकमा नेकपाका वरिष्ठ नेता माधव नेपालले कोरोना रोक्ने भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे। 'भाइरस रिमुभिङ कार्ड' लेखिएको उक्त कार्डमा सबैले घाँटीमा भिरेको तस्विरमा देखिन्छ। एउटा तस्विर यस्तो छ, जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै चाख मान्दै कार्ड हेरिरहेका छन्।

'कोरोना भाइरस सम्बन्धित भनेर वरिष्ठ नेता माधव नेपालले दिनुभएको हो, एक स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भनिन्। नेता नेपालले चीनमा बनेको भाइरस रिमुभिङ कार्ड वितरण गरेका हुन्।

नेपालले आफैंले किनेर कार्ड वितरण गरेको उनको सचिवालयले जनाएको छ। बुधवारको स्थायीक कमिटी बैठकमा ५० वटा कार्ड बाँडेका नेता नेपालले आज (शुक्रबार) थप १० वटा कार्ड बाँड्ने गरी लिएको गएको सचिवालयले जनाएको छ।

कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै वैशाख ३१ गते बैठक स्थगित स्थायी कमिटीको बैठकमा माधव नेपालले कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै 'डिजिटल बुटी' नै वितरण गरे। के यसले कोरोना संक्रमण रोक्ला त?

बाँडिएको कार्ड के हो?

नेपालमा माधव नेपालबाट पहिलोपटक 'पब्लिक मार्केटिङ' गरिएको 'भाइरस रिमुभिङ कार्ड' विदेशमा प्रयोगमा आइसकेको छ। विभिन्न कम्पनीले यसको उत्पादन र वितरण थालिसकेका छन्।

चीनको क्वाङदोङमा बनेको 'भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड' अनलाइनमार्फत विक्री वितरण हुँदै आएको छ। यस कार्डमा फेइस्मासाले प्याकेजिङ गरेको निलो 'ब्याग' भित्र क्लोरिन डाइ अक्साइड, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनको समिश्रण राखिएको स्पेसिफिकेनमा उल्लेख छ।

यो मुख्य गरी पोर्टेबल एयर प्युरिफायर हो। चार ग्रामको यो 'लकेट'ले हावामा रहेका भाइरस तथा दुर्गन्ध नस्ट गर्छ भनेर उल्लेख छ।

के यसले काम गर्छ त?

कोभिड-१९ को कुनै पनि निरोधक औषधि वा भ्याक्सिन पत्ता लागेको छैन। भाइरस रिमुभल कार्डको प्रयोगको विषयमा विश्वका विभिन्न देशमा विवाद पनि चल्दै आएको छ।

चीनकै विशेषज्ञहरुलाई यसको प्रयोग नगर्न सुझावसमेत दिएका छन्।

इकमर्स साइटहरुमा अनलाइनबाट बिक्री वितरण भइरहेका यस्तो कार्डले ५० सिएम रेडियसमा क्लोरिन डाइअक्साइडको एकदम कम एकाग्रता (लो कन्सन्ट्रेसन)लाई ३० देखि ६० दिनसम्म हावामा पठाउँछ। यस्ता कार्डले कोरोना भाइरस मार्ने दाबी गर्दै विज्ञापन भइरहेका छन्।

'क्लोरिन डाइअक्साइडले सामान्य भाइरस मार्न सक्छ, स्पोर्स, अल्गाइ, फंगी मार्न प्रभावकारी पनि हुन्छ,' चाइना फार्मासिटिकल युनिभर्सिटीका प्राध्यापक यीन लिफाङले भनेका छन्, 'छोटो समयमा नै जीवाणु मुक्त गर्न क्लोरिन डाइअक्साइडको उच्च एकाग्रता (हाइकन्सन्ट्रेसन)को प्रयोग गर्नु पर्छ। जुन मानिस स्वास प्रस्वास प्रणालीमा असर गर्छ। यसको प्रयोग वातावरणमा कोही पनि मानिस नभएको बेला गर्नुपर्छ।'

यसरी थोरै घाँटीमा भिरिने कार्डले छाड्ने क्लोरिन डाइअक्साइडको मात्रा थोरै हुने र यसको प्रभाव पनि कम पर्ने सान्सी विश्वविद्यालयको इन्स्टिच्यूट अफ इन्भाइरोमेन्ट साइन्सका निर्देशक दोङ चुवानले भनेका छन्। त्यति मात्र नभइ क्लोरिन डाइअक्साइड लामोसमय सम्म कार्डमा टिक्न सक्दैन। यदी कार्डको प्रयोग गर्दा फुट्यो वा क्लोराइट लिक भयो भने यसले छालामा सम्पर्क भए छाला जल्नुका साथै स्वासप्रस्वासमा विषयको काम गर्न सक्छ।

जापानको कन्जुमर अफेयर्स् एजेन्सीले उपभोक्ताहरुलाई गलत विज्ञापन गरी कार्डको वितरण भइरहेको भन्दै यसबारे सचेत रहन आग्रह गरेको थियो।

स्वास्थ्यका लागि क्लोरिन डाइअक्साइट घातक

अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले पनि मिराकल मिनरलका नाममा बेचिदै आएको क्लोरिनडाइ अक्साइड मिश्रित पेय पदार्थलाई प्रतिबन्ध लगाएको थियो।

यस सम्बन्धमा एपीले फ्याक्ट चेक गर्दै यसले मानिसको स्वास्थ्यमा असर पार्ने देखाएको छ। सामाजिक सञ्जालमा क्लोरिन डाइअक्साइड र 'मिराकल मिनेरल'का नाममा भाइरहेको विज्ञापनमा सत्यता नभएको उल्लेख छ।

कोरोना भाइरसको रोकथामको लागि क्लोरिन डाइअक्साइडको प्रयोगको विषयमा अनुसन्धान पनि भएका छन्। साइक्लोजी इन्टरनेसनल जर्नलमा प्रकाशित एक अनुसन्धानले क्लोरिन डाइअक्साइ अनुमानका भरमा प्रयोग भइरहेको उल्लेख छ। यस सम्बन्धि ठोस अनुसन्धान भएको भन्दै यसको प्रयोगलाई निरुत्साही गर्नुपर्ने उल्लेख छ।

यसले मानिसको फोक्सोमा असरसमेत गर्ने अनुसन्धानमा उल्लेख छ। अनुसन्धानले संक्रमण फैलिन नदिनका लागि घरका कोठा तथा वरिपरिको वातावरण डिस्इन्फेक्ट गर्न क्लोरिन डाइअक्साइडको प्रयोग गर्न भने सकिने उल्लेख छ।

अझै पनि यस विषयमा अनुसन्धान जारी छ। कोभिड-१९ को उपचारका लागि क्लोरिन डाइअक्साइडको प्रयोगबारे क्लिनिकल ट्राइल जारी रहेको डब्लुएचओले जनाएको छ।

क्लिनिकल ट्राइलमै रहेको तथा विदेशमा पनि प्रयोग नगर्न भनिएको एउटा औषधीको गुणस्तर यसको स्वास्थ्यमा पार्ने असरबारे अनुसन्धान जारी रहेको सामाग्रीलाई कोरोना रोक्ने 'बुटी'को रुपमा पूर्व प्रधानमन्त्रीसमेत भइसकेका जिम्मेवार व्यक्तिले 'पब्लिक मार्केटिङ' गर्नु दु:खद् मात्र होइन् जनस्वास्थ्य माथिकै खेलवाड हो।

नेपालमा बिक्रीवितरण गर्नुपूर्व औषधि व्यवस्था विभाग वा गुणस्तर विभागबाट गुणस्तरको प्रमाणपत्र पनि जारी हुनुपर्ने आवश्यकता छ। यसको स्वीकृतिको विषयमा नखुले पनि कोरोना भाइरस जस्तो घातक रोगलाई सामान्य ढंगले बेसार पानी खाने 'हाँछ्यु-साछ्यु' गरेर उडाइदिने भन्ने प्रधानमन्त्री र सत्तारुढ दलकै नेताले प्रमाणित नभइसकेको सामाग्रीलाई मान्यता दिने गरी सरकारी प्रधानमन्त्री निवासमै वितरण गर्नु कतिको उचित होला? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell