PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बालुवाटारमा नै भएको बैठक प्रम ओलीले 'स्किप' गर्दा फेरियो कार्यसूची, शीर्ष नेताले बोलेनन्



कुञ्जरमणि भट्टराई

बालुवाटारमा नै भएको बैठक प्रम ओलीले 'स्किप' गर्दा फेरियो कार्यसूची, शीर्ष नेताले बोलेनन्

काठमाडौं : बालुवाटारमा चलिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली नै उपस्थित भएनन्।

बुधवारको बैठकमा सहभागी बनेका ओली शुक्रवारको बैठकमा अनुपस्थित भएपछि बैठकको कार्यसूचि नै प्रभावित भयो।

आजको बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायतले आफ्नो धारणा राख्ने कार्यसूची थियो। अध्यक्षद्वयले बुधवार नै आफ्नो धारणा राखिसकेका छन्।

तर, बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री नै उपस्थित नहुने भएपछि कार्यसूची फेरेर नेकपा बैठकको एजेन्डाको तेस्रो नम्बरमा रहेको 'सीमा समस्या र समाधानको विषय'माथि छलफल भयो।

खनाल, नेपाल र गौतमले सरकारको चर्को आलोचना गर्ने तयारी गरेका थिए, प्रधानमन्त्री नै अनुपस्थित रहेपछि उनीहरुको तयारी आजका लागि काम लागेन। त्यसो त आलोचनाको संकेत वरिष्ठ नेता नेपालले ओलीको सम्बोधनकै बीचमा जवाफ फर्काएर दिइसकेका छन्।

'आजको बैठकमा शीर्ष नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूची थियो। प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनेपछि विषय मोडियो,' बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले भने।

किन सहभागी भएनन् प्रधानमन्त्री?

नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठका अनुसार ओलीले बैठकमा कार्य व्यस्ततालाई कारण देखाउँदै सम्भव भएमात्र आउने जानकारी गराएका थिए।

'प्रधानमन्त्री आज उपस्थित हुन सक्नुभएन। महासचिवले जानकारी दिनुभए अनुसार अरु काममा व्यस्तताका कारण आउन सकिन, बैठक चलाउँदै गर्नुस्। सकेसम्म आउँछु भन्नुभएको रहेछ। तर, उपस्थित हुनु भएन,' श्रेष्ठले भने।

पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार अध्यक्ष प्रचण्डलाई मिटिङमा भएकाले बैठक चलाउँदै गर्दा आफू उपस्थित हुने बताएका थिए प्रधानमन्त्री ओलीले।

'बैठकमा भएका सबै छलफलहरु हामीले बहस नोटमा उल्लेख गर्छौं। बहस नोट कार्यालय सचिवहरुले लेख्नुहुन्छ। बहस नोटमा उल्लेख भएका सबै कुराहरु दुवै अध्यक्षलाई रिपोर्टिङ हुन्छ। अन्तिममा अध्यक्षहरुले बहस नोटमा भएका कुराहरुलाई ल्याएर जवाफ दिनुहुन्छ,' मन्त्री भट्टराईले भने।

अनुपस्थित भएका प्रधानमन्त्री ओलीको बचाउ गरे भट्टराईले। 'पार्लियामेन्टमा पनि मन्त्री, प्रधानमन्त्री सँधै जानुहुन्न। तर, बोलेका कुराहरुको जवाफ दिइन्छ नि। पार्टीभित्र रिपोर्टिङ सिस्टम हुन्छ। बालुवाटारमै बैठक भइरहेको छ। प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नुस् न,' उनले भने।

तर, केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री आफ्नो आलोचना हुने निश्चित भएपछि बैठकमा नगएको बताए। पार्टीको बैठक नै राख्ने लामो समय लगाएका ओलीले बैठक फेस गर्न कठिन हुने देखिएपछि 'स्केप' हुन खोजेको उनीहरुको तर्क छ।

तर, मन्त्री भट्टराईले भने त्यसलाई नकारे।

प्रधानमन्त्री सचिवालयले पनि उनको अनुपस्थितिको प्रतिरक्षा गरेको छ। अघिल्लो बैठकको अध्यक्षता पनि प्रचण्डले नै गरेको र उनैले बैठक चलाउँदा हुने भएकाले ओली उपस्थित नभएको सचिवालयको तर्क छ।

आजको बैठकमा के भयो?

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित १८ जनाले आफ्नो धारणा राखे। ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने बताएका थिए।

उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको दावी गरे। साथै चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकमा एक जना स्थायी कमिटी सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको छ। अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell