PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नेकपा स्थायी कमिटी बैठक : नेताहरुको विरोधपछि फेरियो ओली-प्रचण्डको आसन, ‘आँगनकै बैठकमा ओली नआउनु हाँस्यास्पद’



पहिलोपोस्ट

नेकपा स्थायी कमिटी बैठक : नेताहरुको विरोधपछि फेरियो ओली-प्रचण्डको आसन, ‘आँगनकै बैठकमा ओली नआउनु हाँस्यास्पद’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि उनको आलोचना भएको छ। स्थायी कमिटी सदस्य अस्टलक्ष्मी शाक्यले बैठक पार्टी कार्यालय धुम्बाराहीमा सार्न माग गरिन्।

‘प्रधानमन्त्रीको सहजताका लागि बैठक बालुवाटारमा राखिएको हो। उहाँकै आँगनमा बैठक राख्दा पनि उपस्थित हुनुहुन्न भने बैठक पार्टी कार्यालमा नै राखौं,’ बैठकमा शाक्यले भनेको कुरा सुनाइन।

प्रधानमन्त्री ओलीमा बैठक डाक्न पनि नसक्ने र आलोचना पनि सुन्न नसक्ने बानी परेको उनले बताइन्।

‘हाँस्यास्पद भनौँ कि अचम्म भनौँ। आँगनमा नै राखिएको बैठकमा आउनु  भएन। सीमा जस्तो महत्वपूर्ण विषयमा कुरा भइरहेको छ। उहाँले पार्टीका नेताहरुको कुरा सुन्नु पर्दैन?’ उनले सोधिन्।

आजको बैठकमा पनि नेताहरुले कम्युनिस्ट नेताहरुको असमान आसन भन्दै विरोध जनाएपछि नेताहरुको आसन फेरिएको छ।

वरिष्ठ नेता माधवकुमार नेपालले बुधवारको बैठकमा अध्यक्षको आसन फरक भएको भन्दै विद्रोहको संकेत गरेका थिए। केन्द्रीय कार्यालयका सचिव मार्फत् आफ्नो कुर्सी अघि सार्न लगाएका थिए।

बुधवारको बैठकमा सोफा राखिएको ठाउँमा आज कुर्सी राखिएको छ।

‘यो कम्युनिस्ट पार्टीमा नमिलेको कुरा हो। नेताहरुको आसन समानान्तर हुनुपर्छ। बैठक शुरु भएर नेताहरुले आवाज उठाएपछि आसन फेरियो,’ शाक्यले भनिन्।

त्यस्तै बैठकमा पार्टीको झण्डा नराखिएको भन्दै नेताहरुले विरोध जनाएका छन्।

शुक्रवारको बैठकमा नेताहरूले सीमामा तारबार लगाउन पनि माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell