PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

कोरोना संक्रमणको कारण देशभर २७ जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि



प्रकाश भण्डारी

कोरोना संक्रमणको कारण देशभर २७ जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

काठमाडौं :  नेपालमा कोरोना संक्रमित २ सय ४६ पुग्दा जेठ १ गते कोभिड १९ को संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भयो। वाग्मती प्रदेशको सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ की एक महिलाको श्वासप्रश्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

अस्पतालले महिलाको स्वाव परीक्षण गर्दा उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। धुलिखेल अस्पतालमा निधन भएकी ती महिलाले आफूमा कोरोना संक्रमण भएको थाह पाउन पाइनन्। उनमा कोरोना संक्रमण रहेको पुष्टि मृत्युको तीन दिनपछिमात्रै भएको थियो।

दोस्रो संक्रमित थिए बाँके नरैनापुराका २५ वर्षे युवक। भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई पनि श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै मृत्यु भयो उनको।

गुल्मीका ४१ वर्षका शिक्षक कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा तेस्रो नम्बरमा परे। जेठ १ गते नै ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएका थिए। जेठ ८ गते उनको अस्पतालमै निधन भयो।

कोरोनाका कारण बारा कलैयाका ७० वर्षे वृद्धको जेठ ४ गते मृत्यु भयो। आठ दिनपछि जेठ १२ गतेमात्रै उनमा संक्रमण पुष्टि भयो।

तेस्रो कोरोना संक्रमित मृत्यु केसअघि नै उनको मृत्यु भएपनि पुष्टि हुन हप्ता दिनभन्दा बढी लाग्यो। श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई जेठ २ गते नै विरगंजको नेशनल मेडिकल कलेजमा ल्याइएको थियो। त्यसको २ दिनमै उनको जेठ ४ गते निधन भयो। ७० वर्षे उनी मिर्गौला रोगी पनि थिए।

जेठ १४ गते ललितपुर बुंगमतीका ५७ वर्षका पुरुषको किस्ट अस्पतालमा मृत्यु भयो। जेठ ११ गते उनलाई पाटन अस्पताल पुर्‍याइएको थियो। त्यहाँ आइसियु नभएपछि किष्ट अस्पताल पठाइयो। ११ गते आइसोलेसनमा राखिएका उनलाई १२ गते भेन्टीलेटरमा सारियो। त्यहीँ दिन स्वाब परीक्षणका लागि पठाइएको भएपनि उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको थियो।

जेठ १६ गते अर्घाखाँचीका ३५ वर्षका युवकको भारतबाट आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा पारी मृत्यु भयो। गुजरातबाट नेपाल आउदै गर्दा बान्ता भएर बोल्न नसक्ने अवस्थामा पुगेका उनको सीमापारी नै निधन भयो। यसअघिका केस नेपालभित्र मृत्यु भएका थिए भने छैटौं नेपाल बाहिर।

मृत्युपछि मात्रै कोरोना भाइरसको संक्रमण भएको पुष्टि हुने अर्का मृतक थिए, दैलेख दुल्लुका ३५ वर्षे युवा। जेठ १७ गते दुल्लु नगरपालिकास्थित क्वारेन्टाइनमा उनको मृत्यु भएको थियो। भारतबाट आएर १० दिन क्वारेन्टाइनमा बसेका उनी बेहोस भएर एक्कासी ढले र,त्यहीँ उनको निधन भयो।

एक दिनपछि फेरि कोरोनाका कारण मृत्यु संख्या थपिएको थियो, बाजुराबाट। नेपालमा मृत्यु भएकामध्ये सबैभन्दा कम उमेरको मृत्युको केस थियो जेठ १८ गतेको। २ वर्षीया मृतक बालिकाको परिवार भारतबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन्। स्वास्थ्य अवस्था जटिल बनेपछि १५ गते साँझदेखि बालिकालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिए पनि उनको मृत्यु भयो। यो नेपालमा कोरोनाका कारण मृत्यु भएको ८ औं केस थियो।

आठौं केसपछि तीन दिनसम्म कोरोनाको मृत्युको केस थपिएन। तर जेठ २१ गते नवौं मृतकका रुपमा थपिए, दोलखाका एक पुरुष। काठमाडौं मेडिकल कलेजमा शल्यक्रियापछि संक्रमण देखिएका उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। १५ गते उनको स्वाब परीक्षण गरिँदा कोरोना पोजेटिभ देखिएकोमा ६ दिनपछि उनको निधन भयो। ७६ वर्षे उनलाई ब्रेन ह्यामरेजसमेत थियो।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ वर्षीय पुरुषको जेठ २२ गते मृत्यु भयो। मिसन अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका उनको मृत्यु भएपछि मात्रै कोरोना परीक्षण गरियो। ३ दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतबाट पाँच दिन अघि आएका उनी बिरामी परेपछि अस्पताल भर्ना भएका थिए।

यसअघिका मृत्यु भएका केस अस्पतालमा, बाटोमै र कोही क्वारेन्टाइनमा थिए भने एघारौं केसको मृत्यु भने घरमै भयो। जेठ ७ गते भारतबाट आएर सुर्खेतमा क्वारेन्टाइनमा चौंध दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ देखिएपछि २१ गते घर पठाइयो। त्यही दिन राति २ बजे उनको निधन भएको थियो। मृत्युपछि गरिएको पीसीआरमा पोजेटिभ रिपोर्ट आएको थियो।

यसरी होम क्वारेन्टाइनमा मृत्यु हुने अर्का कोरोना भाइरस संक्रमित थिए डोल्पाका ५८ वर्षका पुरुष। सुर्खेतबाट डोल्पा आफ्नो घर पुगेका उनको होम क्वारेन्टाइनमा बसेकै बेला जेठ २० गते निधन भएको थियो। २४ गते उनमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भयो। उनी करोना भाइरसका कारण मृत्यु हुने १२ औं व्यक्ति हुन्।

यसैगरी कैलालीको धनगढीमा ५५ वर्षीया महिलाका जेठ २३ गते निधन भयो। सेती अस्पतालमा मिर्गौलाको डायलासिस गर्ने क्रममा उनको मृत्यु भएको थियो। उनको पनि मृत्युपछि गरिएको पीसीआर परिक्षणमा कोरोना संक्रमण देखियो। यो केससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुग्यो।

स्याङ्जाका कोरोना संक्रमितको पनि अस्पतालामा उपचार भइरहेकै बेला निधन भयो। जेठ २६ गते उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा निधन भएको थियो। स्याङ्जाका घर भएका उनलाई केही दिन अघिमात्रै अस्पताल भर्ना गरिएकोमा मृत्युपछि कोरोना पुष्टि भयो।

त्यसपछि चितवनमा ६८ वर्षीय वृद्धको पनि कोरोनाकै कारण निधन भएको थियो। उनी नेपालको १५ कोरोना भाइरस संक्रमित मृतक थिए। भरतपुर अस्पतालको आइसीयूमा भरतपुर महानगरपालिका वडा नं. ११ का ६८ वर्षीय वृद्धको जेठ २७ गते मृत्यु भएको हो। उनलाई नारायणी सामुदायिक अस्पतालको आइसीयूबाट भरतपुर अस्पतालको आइसीयूमा सारिएको थियो। उनको पनि मृत्यु भएपछि मात्रै कोरोना संक्रमण पुष्टि भयो।

यसपछि अर्घाखाँची मालारानीका ५७ वर्षका पुरुषमा पनि मृत्यु भएपछि कोरोना भाइरस पुष्टि भएको थियो। क्वरेन्टाइनमा रहेका उनमा श्वासप्रस्वाससम्बन्धी समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरिएको थियो। उपचारपछि फर्किँदै गर्दा उनको बाटोमै मृत्यु भयो। मृत्युपछि स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनलाई जेठ २८ गते कोरोना भाइरस संक्रमण देखिएको थियो।

जेठ २८ गते विरगञ्ज महानगरपालीका घण्टाघर नजिकै एउटा बेवारिसे शव फेला पर्‍यो। शवको स्वाब संकलनपछि नेपाली सेनाले शवको व्यवस्थापन गर्‍यो। उनमा पनि कोरोना संक्रमण देखिएको थियो। उनीसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ पुग्यो।

१८ औं मृतक भने प्रदेश २ का थिए। जेठ २९ गते बारा निजगढका ५ वर्षे बालकको मृत्यु भएको थियो। उनको पनि मृत्युपछिमात्रै कोरोना पुष्टि भयो।

गुल्मी धुर्कोटका ३६ वर्षीय पुरुषको जेठ ३२ गते तमघासस्थित महिला विकासको आइसोलेसन सेन्टरमै मृत्यु भयो। क्यान्सर पीडित युवा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसनमा थिए। उनी १९ औं मृतक बने। यसैगरी बाँके वैजनाथकी ४६ वर्षे महिलाको कोरोना संक्रमणकै कारण निधन भयो।

असार २ गते र ३ गते कैलालीमा कोरोनाका कारण २ जनाको मृत्यु भएको थियो। नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। टाउकोको समस्या आएपछि उनलाई ३१ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मृत्यु भएको थियो। त्यसैगरी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको थियो।

कोरोनाका कारण मृत्यु हुने २३ औं व्यक्ति गुल्मी छत्रकोट गाउँपालिकाका ५९ वर्षका पुरुष हुन्। उनको असार ३ गते होम क्वारेन्टाइनमै मृत्यु भएको थियो। उनी प्यारालाइसिसका बिरामी थिए। असार ३ गते नै कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको मृत्यु भयो। २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका पुरुषमा मृत्युपछि असार ४ गते कोरोना संक्रमण पुष्टि भयो। त्यतिबेला देशभर योसँगै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको तथ्यांक थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आइसियूमा उपचारत बिरामीको असार १० गते राति निधन भयो।

स्याङ्जा सिरुवा घर भएका ५५ वर्षे पुरुष असार ८ गते अस्पताल भर्ना भएका थिए। कोरोना संक्रमण देखिएर अपचारको क्रमममा उनको निधन भएको थियो।

असार ११ गते पाटन अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण एक पुरुषको मृत्यु भएको थियो। चितवनका ५० वर्षे उनी ५ दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि पाटन अस्पतालमा भर्ना भएका थिए। त्यहीं उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

असार १२ गते  कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

गौतमले बिहीवार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए। अचेत भएकी महिलालाई अस्पताल पुर्‍याउने बितिकै डाक्टरहरुले मृत घोषणा गरेका थिए। मृत्युपछि स्वाब संलन गरी परीक्षण गर्दा असार १२ गते कोरोना पोजेटिभ देखिएको थियो। मृतक महिलाको हालसम्म परिचय खुल्न नसकेको गौतमले बताए। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

२७ जनामध्ये अधिकांशको मृत्युपछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। 

तीन जनामा आत्महत्या पछिमात्रै कोरोना पुष्टि

स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा २७ जनाको मात्रै कोरोनाका कारण निधन भएको बताए पनि प्रदेश ५ सरकारले आत्महत्या गरेका संक्रमित र अर्का भारतको दिल्लिमा मृत्यु भएका एक जनालाई पनि कोरोना संक्रमणबाट मृत्यु भएको सूचिमा उल्लेख गरेको छ।

दिल्लीमा मृत्यु भएका ३१ वर्षे पुरुषको नेपाली सेनाले दाङमा ल्याएर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। अर्घाखाँचीका हरि मावी क्वारेन्टाइनमा बसेका ४५ वर्षका पुरुषले आत्महत्या गरेका थिए। सुर्खेतको सिम्ता गाउँपालिका-८ निवासी एक युवतीमा आत्महत्यापछि कोरोना भाइरसको संक्रमण पुष्टि भयो।

प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा मृतक युवतीमा संक्रमण पोजेटिभ आएको थियो। गाउँपालिका प्रमुख कविन्द्र कुमार केसीका अनुसार युवती गत असार १ गते रूखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

यता दैलेखमा झुण्डिएर आत्महत्या गरेका एक जनामा कोरोना संक्रमणको पुष्टि भयो। दुल्लु नगरपालिका १० गमौडीका २१ वर्षीय पुरुषमा आत्महत्यापछि संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जेठ ११ गते भारतबाट फर्किएका उनी १४ दिन क्वारेन्टिनमा बसेर आरडिटी रिपोर्ट नेगेटिभ आएपछि जेठ २५ गते घर पुगेका थिए। घर गएको १६ दिनपछि असार ९ गते बेलुका उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। आत्महत्यापछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell