
अमेरिकाको चर्चित एनिमेटेड कमेडी सिरिज 'द सिम्पसन्स'ले अन्य जातीय पृष्ठभूमि झल्काउने पात्रहरुमा श्वेत कलाकारहरुको आवाज नराख्ने निर्णय गरेको छ। सिरिजका निर्माताले बीबीसीसँग यस खबरको पुष्टि गरेका छन्।
फक्स नेट्वर्कमार्पत् प्रसारण हुने कार्यक्रमले वर्षौ यता आलोचना खेप्दै आएको छ। कारण – इन्डियन – अमेरिकन पात्र अपुमा श्वेत कलाकार ह्याङ्क अजारीयाको आवाज राखिनु।
अजारीया स्वयंले उक्त भूमिकाबाट आफू पछि हट्ने बताएका थिए। उनले सन् १९९० मा पात्र बनेदेखि आफ्नो आवाज दिँदै आएका छन्।
'ब्ल्याक लाइभ्स म्याटर' आन्दोलन चर्किएसँगै द सिम्पसन्स मात्र नभइ मनोरञ्जन क्षेत्रका धेरै कलाकार, सामाग्रीमा अश्वेतलाई प्रदान गरिने अवसर र प्राथमिकताहरुमाथि प्रश्न उठ्न थालेका छन्। यसै बीच 'द सिम्पसन्स'का निर्माताले विज्ञप्ती जारी गर्दै उक्त निर्णय बारे जानकारी दिएका हुन्।
लेखेका छन्,'हामीले सामूहिक निर्णय गरेका हौं। यो निर्णय सही हो भन्नेमा कसैको असहमति छैन।'
फक्स नेट्वर्कको विज्ञप्तीमा भने 'अपु' पात्र नै राखिने या नराखिने भन्ने टुङ्गो लागि नसकेको जनाइएको छ।
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडलाई श्वेत प्रहरी अधिकारीले नियन्त्रणमा लिने क्रममा घुडाँले घाँटीमा थिचेपछि उनको मृत्यु भयो। उक्त घटना सार्वजनिक भएपछि अमेरिकामा कयौं दिनसम्म प्रदर्शन भयो। र, रङ्गभेदविरुद्ध आवाज उठ्न थाल्यो।