PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कर्णालीमा ‘ट्राभल हिस्ट्री’ नभएकामा पनि कोरोना संक्रमण, शिक्षकदेखि बैंकका कर्मचारीसम्म संक्रमित



पी बी खड्का

कर्णालीमा ‘ट्राभल हिस्ट्री’ नभएकामा पनि कोरोना संक्रमण, शिक्षकदेखि बैंकका कर्मचारीसम्म संक्रमित

सुर्खेत : विज्ञहरुले नेपालमा कोरोना भाइरस समुदायस्तरमा नफैलिएको दाबी गरिरहे पनि पछिल्लो समय संक्रमितको सम्पर्कमा नरहेका व्यक्तिमा पनि संक्रमण पुष्टि भइरहेका छन्। ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि हुँदा समुदायस्तरमा त्रास बढेको छ। कर्णाली प्रदेशका केही स्थानमा यही अवस्था दोहोरिएको छ।

यसअघि सुर्खेत र दैलेखका तीन जना बिरामी प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना हुँदा आशंकामा कोरोना परीक्षण भएको थियो। उनीहरू तीनै जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरूको ट्राभल हिस्ट्री थिएन।

भारतबाट भित्रिएकाहरूमा मात्रै नभएर स्थानीयस्तरमा नागरिक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेपछि प्रदेश अस्पतालमा कार्यरत चिकित्सकले कोरोना समुदायस्तरमा फैलिएको हुनसक्ने आशंकामा सचेत हुन आग्रह गरेका छन्।

‘अब कोरोना समुदायस्तरमै पुगिसकेको छ’, प्रदेश अस्पताल निर्देशक डम्बर खड्काले भने्, ‘सर्वसाधारण नागरिक सचेत भएर सुरक्षा सतर्कता अपनाएर बस्ने बाहेक विकल्प छैन।’

खड्काले संक्रमितको संख्या थपिने क्रम अझै जारी रहने पनि बताए। समुदायस्तरमा नागरिकबाट जोखिमलाई बेवास्ता गर्दा संक्रमण फैलन सक्ने चेतावनी पनि उनले दिए।

ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखिए पनि केही दिनअघि संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले समुदायस्तरमा संक्रमण नफैलिएको दाबी गरेका थिए। कोरोना फैलिसक्दा पनि मन्त्रीले सतही प्रतिक्रिया दिएको भन्दै आलोचना पनि भएको थियो।

जोखिममा फ्रन्टलाइनमा खटिने

केही दिनयता फ्रन्टलाइनमा रहेर कोरोना नियन्त्रणका लागि खटिएका जनशक्तिमै संक्रमण देखिन थालेको छ।

प्रदेश अस्पतालका चिकित्सकसहित १३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। दैलेख र जुम्लाका ४/४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। रुकुम पश्चिम र सल्यानमा एक/एक जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै, सुरक्षाकर्मीतर्फ सुर्खेतमा ४ जना, दैलेखमा नेपाली सेना ४, नेपाल प्रहरी ९ र सशस्त्र प्रहरी २० गरी ३३ जनामा संक्रमण देखिएको छ। जुम्लामा नेपाल प्रहरी २ जना, नेपाली सेना २५ जना र जाजरकोटमा एक जना सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएको स्रोतको भनाई छ। डोल्पामा एक जना सुरक्षाकर्मीमा आरडीटी पोजेटिभ देखिएपछि स्वाब संकलन गरी प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ। रिपोर्ट आइसकेको छैन।

त्यस्तै, जनप्रतिनिधिमा समेत संक्रमण देखिएको छ। दैलेखमा २ जना र जाजरकोटमा एक जना जनप्रतिनिधिमा संक्रमण पुष्टि भएको हो। दैलेखका विभिन्न स्थानीय तहमै कार्यरत ६ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ।

सुर्खेतमा बैंकका दुई कर्मचारी संक्रमित भएका छन् भने, स्वास्थ्यसँग सम्बन्धित अन्य कार्यालयका दुई जना पनि संक्रमित छन्। जाजरकोटमा एक जना बैंककै कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ।

जुम्लामा एक शिक्षकसहित हस्पिटलका क्यासियर, सुरक्षा गार्ड र फर्मासिस्टमा संक्रमण देखिएको छ।

संक्रमित हुने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रत्यक्ष कोरोना संक्रमितको निगरानी र सुरक्षामा खटिएकाहरु हुन्। कतिपय भने संक्रमितको सम्पर्कमा रहेका छन्।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नै संक्रमित हुन थालेपछि आगामी दिनका लागि थप चुनौती थपिएको छ ।

‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि संयमित भएरै डब्लुएचओले भनेको र हामीले बनाएको मापदण्ड अनुसार आवश्यक सुरक्षा सामग्री वितरण गरेका थियौँ’, जनस्वास्थ्य महाशाखा कर्णालीका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘स्वास्थ्यकर्मी नै प्रत्यक्ष संलग्न भएर संक्रमितको रेखदेख गर्ने भएकाले उहाँहरू नै आइसोलेसनमा बस्दा केही समस्या चाहिँ सुरु भएको छ।’

संक्रमण कम भएको क्षेत्रबाट स्वास्थ्यकर्मी ल्याउने प्रदेश सरकारले तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell