PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बारामा सलहको बथान : किरालाई गाउँलेले भुटेर खाए, नेपालमा कस्तो पर्ला असर?



राधेश्याम पटेल

बारामा सलहको बथान : किरालाई गाउँलेले भुटेर खाए, नेपालमा कस्तो पर्ला असर?

निजगढ: शनिबार नेपालमा सलह किराले प्रवेश गरेसँगै सर्तकता अपनाउन थालिएको छ। प्रदेश २ को बारामा शनिबार बिहानैबाट सलहको फौज देखिएको थियो। ठूलो सङ्ख्याको सलहले बालीनाली नष्ट गर्ने कृषि विज्ञहरुले बताएका छन्।

यता, बाराबासीले भने सलह भुटेर खाएका छन्। निजगढ नगरपाकिला १३ डम्बरपुरका बासिन्दाले बिहान साढे ८ बजेदेखि मध्याह्न १२ बजेसम्म अकाशबाट झरेका किरा समातेर भुटेर खाएको वडाध्यक्ष सूर्य घलानले जानकारी दिए। गाउँललेले करिब ८–९ सयवटा किरालाई खेत,बारी,बगरलगायत ठाउँबाट टिपेर वा मारेर ल्याएर भुटेर खाएको उनले बताए।

प्रदेश २ को बाराको निजगढ र सर्लाहीको नवलपुरमा देखा परेको सलह किराको अनुगमन गर्न गएको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको विज्ञ टोलीसँग कुराकानी गर्दै एक गाउँलेले भने,‘हाम्रा पूर्खाहरुले फटयांग्रा भिटामिनको भण्डार भएको जीवन भएको भन्दै विगतमा मारेर भुटन बनाएर खान्थे,हामीहरुले पनि जमिनबाट टिपेर,बालुवा,ढुङगा र लाठीले मारेर भुटन बनाएर खाएका हौँ।’

शनिबार बिहान अकाशै ढाकिने गरी आएको सलह किराको बथान कमजोर भएको र उनीहरु बाराको निजगढ भएर प्रदेश २ का अन्य जिल्लातर्फ गएको पनि गाउँलेले बताए।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका विशेषज्ञहरुको टोलीले निजगढ र सिमराको एयरपोर्ट पूर्वको खरबुजा फार्मबाट पाँच वटा सलह फेला पारी परीक्षण अघि बढाइएको केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले बताए।

‘मिडियमा अचानक समाचार आउँदा हामी स्थलगत निरीक्षणका लागि पुग्यौं,’उनले भने,‘बाराको विभिन्न ठाउँमा सलहले क्षति पुर्‍याएको छैन,फाटफुट किरामात्र भेटेका छौँ,झुण्डमा यात्रा गर्ने किरा बाराबाट माइग्रेन्ट गरी पूर्वी नेपालतर्फ गएको देखिएको छ।’

अफ्रिकाबाट पाकिस्तान र भारतमा वितण्डा मच्चाएर नेपालमा प्रवेश गरेको सलह एक दिनमा १५० किलोमिटर दूरीसम्म यात्रा गर्न सक्छ। एक वर्ग किलोमिटरमा ८० लाखको संख्यामा समूहमा हिँडने किरा दैनिक १० वटा हात्ती वा २५ सय जनाले खाने खानेकुरा बराबरको बालीनाली खान सक्ने विज्ञहरले बताएका छन्। शनिबार देखिएको सलहले क्षति नगरे पनि आउने दिनमा यसको असरबारेमा कृषि विज्ञहरु चिन्तित छन्।

सलह बिहान सूर्य उदाएपछि २ घण्टा आराम गरी सक्रिय हुन्छ भने साँझ सूर्य अस्ताएपछि निष्क्रिय हुन्छ। राति भने यी किरा बाली तथा बोटविरुवामा विश्राम लिने गरेको क्षेत्रीय कृषि अनुसन्धान केन्द परवानीपुरका किरा विज्ञ दीपनारायण महतोले बताए।

‘बाराबाट भेटिएका किरा बुढी औँला साइजको छ। पहलो रंगको किराले हरियो झारपात जे पनि खान्छ,’उनले भने ,त्यस कारण यसको प्रवेश नेपालमा भएपछि चिन्ताको विषय हो,तर क्षति भएको छैन।’

मरुभूमि क्षेत्रमा जीवनचक्र निर्वाह गर्ने यो किराले नेपालमा खासै असर नपार्नेमा आफूहरु ढृक्क रहेको उनले बताए।

‘४० डिग्री तापक्रमभन्दा बढीमा यो किराले फुल पारेर लार्भाबाट किरा जन्माउँछ,तर नेपालमा बर्खा लागेपछि अब किराले संख्या बढाउलान वा खासै क्षति गर्छन् भन्ने सम्भावना कम छ,’उनले भने,‘तै पनि हामीले केही नमूना संकलन गरी अध्ययनमा जुटेका छौँ,अगामी दिनमा असर देखिएन भने किसानले चिन्ता लिनु पर्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell