
स्पेनिस ला लिग अन्तर्गत आज भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। म्युनिसिपल डि बलाइडोस स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोली सेल्टासँग २-२ को बराबरीमा रोकिएको छ।
खेलमा दुईपटक अग्रता बनाएको बार्सिलोनालाई सेल्टाले बराबरीमा रोकेको हो। खेलको २० औं मिनेटमा लुइस स्वारेजको गोलमा अग्रता बनाएको बार्सिलोना पहिलो हाफमा १-० ले अघि रह्यो। तर, दोस्रो हाफको सुरुमै सेल्टाका लागि फ्योडोर सोलोमोभले गोल गर्दै खेल बराबरीमा ल्याए। फेरि स्वारेजले नै ६७ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए। उनले दुवै गोल लियोनल मेस्सीको पासमा गरेका थिए। तर घरेलु टोलीका लागि लागो आसपासले ८८ औं मिनेटमा गोल फर्काउँदा खेल बराबरीमा रोकियो।
बराबरीमा रोकिएसँगै ३२ खेल खेलेको बार्सिलोना ६९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। तर, ३१ खेल खेलेको रियल मड्रिड ६८ अंकसहित दोस्रो स्थानमा रहँदा उपाधि होडमा आजको बराबरी महँगो पर्न सक्छ। अर्कोतर्फ रेलिगेसन जोनको नजिक रहेको सेल्टा भिगोलाई भने आजको जितले राहत दिएको छ। १६ औं स्थानमा रहेको उसको ३२ खेलबाट ३४ अंक रहेको छ।