
काठमाडौँ: कोरोना भाइरसको संक्रमण बढेपछि कञ्चनपुर जिल्लामा पहिलोपटक वडा सिल गरिएको छ। दिनानुदिन संक्रमित थपिँदै गएपछि जिल्लाको मध्य मागमा रहेको कृष्णपुर नगरपालिकाको वडा नम्बर २ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको हो।
वडाध्यक्ष जयनारायण जोशीले एक हप्ताका लागि वडा सिल गरिएको बताए। उनका अनुसार वडा नम्बर २ सहित सिंगो नगरपालिका नै कोरोना संक्रमणको उच्च जोखिममा छ। यहाँ भारतबाट आउने क्रम जारी छ। रोजगारीमा गएकाहरु दिनानुदिन घर फर्किरहेका छन्।
कञ्चनपुरमा हालसम्म ३०७ जना संक्रमित छन्। जसमध्ये १३८ त कृष्णपुर नगरपालिकाका छन्। वडा नम्बर २ मा भने १६ जनामा संक्रमण देखिएको वडाध्यक्ष जोशीले बताए।
स्वास्थ्यको 'गाइडलाइन्स'ले जोखिम बढायो
कृष्णपुरमा स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकाले जोखिम बढाएको छ। स्वास्थ्यको नयाँ गाइडलाइन्सले लक्षण नदेखिएका व्यक्तिलाई होम क्वारेन्टाइनमा पठाउन भनेको छ। गाइडलाइन्स अनुसार वडा नम्बर २ ले लक्षण नदेखिएका धेरै व्यक्तिलाई पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर घर पठायो। परीक्षण रिपोर्ट आउँदा पोजेटिभ देखियो।
'लक्षण देखिएर घर पठाएकाहरु होम क्वारेन्टाइनमा बस्न छोडेर छरछिमेकमा डुलेको पाइयो। रिपोर्ट आउँदा पोजेटिभ आएपछि समुदायस्तरमा संक्रमणको खतरा बढेको छ। यसलाई रोक्न वडा सिल गर्न परेको हो,' वडाध्यक्ष जोशीले भने।
संक्रमित बढ्दै गएपछि कृष्णपुरको वडा नम्बर २ मा ५० वेड क्षमताको आइसोलेसन निर्माणको काम अगाडि बढेको छ। '२०/२५ जनालाई आरडीटी गर्दा २.३ जनामा पोजेटिभ देखाउँछ। पीसीआर परीक्षणका लागि पठाउँदा रिपोर्ट आउँदैन। घर पठाएपछि पोजेटिभ देखिन्छ,' उनले भने। वडाध्यक्ष जोशीले कोरोना दोस्रो चरणमा भने नसरेको बताए। 'दोस्रो चरणमा सरेको छैन। अहिले नियन्त्रण गर्न सके राम्रो हो। रुप अर्को लिने स्थिति हुन्छ। परिणाम भयावह हुन्छ,' उनले चिन्ता व्यक्त गरे।
वडाले पोजेटिभलाई देखाएका संक्रमित र भारतबाट आएका प्रवासी नेपालीलाई अलग राखिएको जानकारी दिँदै वडाभर ५९ जना क्वारेन्टाइनमा रहेको बताए। यद्यपि उनले थपिनेभन्दा निको हुनेको संख्या बढिरहेको बताए।
'आज १९ जना गए। २ जना थपिए। थपिने क्रम कम छ। जाने क्रम बढी। समुदाय स्तरमा फैलिन नदिन सिल गरेको हो। जिल्लामा यो कोरोना महामारीमा पहिलोपटक सिल भएको हो, जोशीले भने।