PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भुवन ढुंगानाको 'परित्यक्ता ' सार्वजनिक



पहिलोपोस्ट

भुवन ढुंगानाको 'परित्यक्ता ' सार्वजनिक

काठमाडौं : प्रकाशक नेपालयले लकडाउनपछि पहिलो पटक नयाँ पुस्तक बजारमा पठाएको छ। बजार केही खुकुलो भएसँगै प्रकाशन भएका तर सार्वजनिक नभएका पुस्तकको बिक्री वितरण सुरु गरेको हो। नेपालयले पहिलो चरणमा भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’लाई सीधै बजारमा उपलब्ध गराएको हो।

परित्यक्ता एकालाप शैलीमा बाँधिएको कृति हो। यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छ; जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे। पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छे; समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ। यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गर्छ।

सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो। ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्। उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा संग्रहहरू प्रकाशित छन्।

‘केही समय विलम्ब भए पनि अब पुस्तक पाठकका हातमा जाने कुराले औधी खुशी भएकी छु,’ लेखक ढुंगानाले भनिन्, ‘जब तपाईं कुनै कृतिलाई सृजना गर्नुहुन्छ, त्यो कृति पाठकको हातमा पुगेपछि मात्र जीवन्त बन्छ भन्ने अनुभूति लेखकलाई भएको हुन्छ त्यसैले पुस्तक निर्माणको सम्पूर्ण प्रक्रियामा संलग्न लेखकलाई पुस्तकको पूर्ण रुप पाठकको हातमा पुगेको देख्दा उच्चतम आनन्द प्राप्त हुन्छ‘ ढुंगानाले खुशी व्यक्त गरिन्।

‘यो पुस्तकले नेपाली समाजमा व्याप्त पहिचान र लिङगका बारेमा विद्यमान तर्कको संवादमा नयाँ आयाम थप्नेछ। ढुंगानाको पुस्तकले लिंगको निर्धारित भूमिकाभन्दा माथि उठेर उत्पन्न हुने वैयक्तिक अस्तित्वमाथिको ध्यानलाई उजागर गरेको छ,’ पब्लिकेसन नेपालयकी सम्पादक भूषिता वशिष्ठले पुस्तकको वैचारिक पक्षलाई औल्याइन्।

'परित्यक्ता' पुस्तक देशका सबै पुस्तक पसलहरूमा २७५ रुपैयाँमा उपलब्ध छ। ‘थुप्रै’मार्फत् ‘ई-बुक’को रुपमा पनि प्राप्त गर्न सकिन्छ। साथै अनलाइन बिक्रेता ‘अमेजन’ मार्फत् संसारभरका पाठकले यो पुस्तक प्राप्त गर्न सक्छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell