काठमाडौं : अनलाइन फार्मेसी इजी केयरले औषधिको नि:शुल्क होम डेलिभरी गर्ने भएको छ। 'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार वर्ष देखि सक्रिय इजी केयरले लकडाउन केन्द्रित सेवा सुरु गरेको हो।
संस्थापक पवनराज घिमिरेका अनुसार बिहान ९ बजे अगाडि गरिएको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी हुन्छ। अत्यावश्यक औषधिको इमर्जेन्सी डेलिभरी समेत गरिने जानकारी दिए। रातको इमर्जेन्सी डेलिभरीमा भने पाँच सय थप शुल्क लाग्ने उनले बताए।
'हाम्रो गोदाममा उपलब्ध नभएका औषधि बजारमा खोजेरै भए पनि उपलब्ध गराउने कोसिस गर्छौ', उनले भने,'नेपालमा उत्पादन नहुने औषधि बजारमा अभाव भएको अवस्थामा निश्चित समय लिएर विदेशबाटै मगाएर उपलब्ध गराउँछौं।'
त्यस्तै इजी केयरले रगतको 'स्याम्पल टेस्ट'को सेवा पनि दिँदै आएको छ। इजी केयरका स्वास्थकर्मी ग्राहकको घरमै गएर स्याम्पल संकलन गरी गुणस्तरीय ल्याबमा जाँच गरेर रिपोर्ट बुझाउने बताइएको छ। उक्त सेवाका लागि ल्याब शुल्क बाहेक 'होम सर्भिस'को थप सय रुपैयाँ शूल्क लाग्नेछ। साथै घरमै डाक्टर बोलाउनु परेमा 'डक्टर अन कल'को सुविधा समेत छ।
ग्राहक र कर्मचारी दुबैको स्वास्थ प्रती सजग हुँदै कर्मचारीको नियमित स्वास्थ परीक्षण गरिने बताइएको छ। मास्क, स्यानिटाइजर, पीपीई लगायत अन्य सुरक्षा सामाग्रीको प्रयोग गरेर मात्र कर्मचारी खटाइएको संचालक सुप्रित बास्कोटाले जानकारी दिए।
'डेलिभरीमा प्रयोग हुने सवारी साधनका साथै औषधि गोदाममा भित्र्याउँदा र ग्राहक कहाँ पठाउनु अगाडी प्याकेजिङ गरेपछी डिसइन्फेक्सन स्प्रे गरिने बास्कोटाले बताए। ग्राहकलाई पठाउने औषधिको प्याकेजिङ मान्यता प्राप्त फर्मासिस्टले गर्ने बास्कोटा बताउँछन्।
हरेक औषधिमा बाह्र प्रतिशत नगद छुट दिइने बताइएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै इजी केयरले इ-सेवा, आइएमई पे, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट लगायत माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने बताइएको छ। सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा थप दस प्रतिशत 'क्यास ब्याक' रहेको बताइएको छ।
