सिमला : स्याउ टिप्ने सिजनमा कामदार नहुँदा कृषकहरु समस्यामा परेका छन्। कोरोना भाइरसका कारण नेपाली कामदारहरु नेपालमै रहेकाले यस सिजनको स्याउ टिप्ने समयमा संकट भोग्न पर्ने भएको हो।
अन्तर - राज्य यातायात ठप्प हुँदा कामदारको अभाव भएको किसानहरुले बताएका छन्। स्याउ उत्पादक दिग्विजयका अनुसार धेरै संख्यामा नेपाली कामदारहरु यहाँ आउने गरेको भए पनि लकडाउनले यतिखेर आवात जावत निषेध छ।
'श्रमिकको अभाव हुनुको मुख्य कारण कोभिड १९ हो। एक प्रदेशबाट अर्कोमा जानसमेत पास चाहिन्छ जुन लिन निक्कै झन्झट पनि छ। यस्तो अवस्थामा सीमा पार गरेर नेपाली मजदूरहरु यहाँ आइपुग्ने अवस्था छैन। यस सिजनमा हामी मुलत: आप्रवासी मजदुरसँग निर्भर छौं,' उनले भने, 'सरकारले यस विषयलाई अब सम्बोधन नगरी हुँदैन।'
समयमा नै फल संकलन गर्न नसकेमा ठूलो क्षति बेहोर्न पर्ने अवस्था आउने उत्पादकहरुले बताएका छन्। 'नेपालबाट आउने श्रमिकहरु सीमा बन्दका कारण रोकिएका छन् जसले असहज अवस्थामा पुर्याएको छ। स्याउमात्र होइन, तरकारी बाली भित्र्याउन पनि समस्या परेको छ। हामीलाई नेपालका दाजुभाइबाट दिनहुँजसो फोन कल आइरहन्छ तर उनीहरुलाई यहाँसम्म पुग्ने कुनै उपाय छैन,' यहाँका श्रमिक नरेश शाहीले भने।
हिमाञ्चल प्रदेशको कृषि कार्यालयका प्रिन्सिपल सेक्रेटरी तथा चिफ नोडल अफिसर अंकर चन्द शर्मा कामदार भित्र्याउन सरकारले सहयोगी भूमिका खेलको बताउँछन्। उनका अनुसार यस्ता कामदारलाई क्वारेन्टाइनमा नै नराखी काममा खटाइने सुविधा दिइएको छ।
'यस्ता कामदारलाई क्वारेन्टाइन विना नै काममा जान अनुमति दिइएको छ तर उनीहरुलाई जसले ल्याउने हो उनीहरुले बस्ने व्यवस्था भने अरुभन्दा अलग हिसाबले गर्नुपर्ने छ,' उनले भने। उनीहरुमा कोरोना भए नभएको परीक्षण भने गराउनुपर्ने व्यवस्था गरिएको छ।
