काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिरहेका सुरक्षाकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री पठाएका छन्। नेता लेखकले कञ्चनपुर र बैतडीमा खटिएका सुरक्षाकर्मीका लागि पीपीईसहित सुरक्षा सामग्री सहयोग गरेका हुन्।
नेता लेखकद्वारा पठाइएका स्वास्थ्य सामग्रीहरु कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडामार्फत जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीलाई १० थान पीपीई, ५ लिटर सेनिटाइजर र सशस्त्र प्रहरी बल शैलेश्वरी गुल्मका गुल्मपति शसस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुलाई १० थान पीपीई, ५ लिटर सेनिटाइजर हस्तान्तरण गरिएको कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहोराले जानकारी दिए।
त्यस्तै, भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाका क्वारेन्टाइनमा वितरणका लागि लागि १ हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाइजर समेत हस्तान्तरण गरिएको सभापति बोहोराले बताए। स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरणका लागि कांग्रेस कञ्चनपुरका सभापति बोहोरासहित जिल्ला सचिव दिवाकर पाण्डे, कोषाध्यक्ष शंकरबहादुर चन्द, क्षेत्र नम्बर ३ का सभापति गोपालदत्त भट्ट लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
प्रमुख जिल्ला अधिकारी खतिवडाले संकटको बेलामा नेता लेखकद्वारा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई गरिएको सहयोगको प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा सहित धन्यवाद व्यक्त गरेका थिए।
नेता लेखकले यसअघि कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रका स्वास्थ्यकर्मीका लागि ५७ थान पीपीइसहित मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका थिए।
त्यस्तै नेता लेखकले बैतडी जिल्लाका लागि समेत २० थान पीपीई पठाएको नेता लेखकका सहयोगी नेबिसंघका पूर्व केन्द्रीय सदस्य जनक भट्टले जानकारी दिए।
बैतडीमा पठाइएको स्वास्थ्य सामग्रीहरु आवश्यकताअनुसार स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई प्रदान गरिने सहयोगी भट्टले जानकारी दिए।
