PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

राजस्व छली गरेको अभियोगमा वडासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर



रासस

राजस्व छली गरेको अभियोगमा वडासचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आइतवार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ। आयोगले नेपाल सरकारलाई प्राप्त हुने दुई लाख ७१ हजार ४२६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको जनाएको छ।

आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध दुई लाख ७१ हजार ४२६ रुपैयाँ, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध एक लाख १७ हजार २२८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।

उनीहरुलाई बिगोअनुसारको कारबाहीको माग गर्दै आइतवार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै आयोगले आइतवार नै कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने सेवाग्राहीको काम सहज गरिदिने प्रयोगका लागि नायब सुब्बा पन्थीले पाँच हजार रुपैयाँ घुस मागेको अभियोग लागेको छ।

यस्तै, जिल्ला मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध आइतवार नै विशेष अदालतमा मुद्दा दायर गरिएको छ। उनीहरुले धादिङ जीवनपुरका एक सेवाग्राहीको जग्गा रजिस्ट्रसन पास गर्ने क्रममा पाँच हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell