PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकारले सीमामा सशस्त्रको उपस्थिति बढाउँदै, केही महिनाको अवधिमा मात्रै दर्जन बढी बिओपी स्थापना



रासस

सरकारले सीमामा सशस्त्रको उपस्थिति बढाउँदै, केही महिनाको अवधिमा मात्रै दर्जन बढी बिओपी स्थापना

काठमाडौं : सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ। पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन्।

गत मंसिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेको गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म मुलुकभर कुल १३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ। हालै चीनतर्फका नाका हुम्लाको हिल्सा, संखुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी स्थापना भइसकेका छन्।

यस्तै त्रिदेशीय नाकाका रुपमा रहेको दार्चुलाको छाङरुमा समेत बिओपी स्थापना गरिसकेको छ। विस २०७५ मा ८६ स्थानमा सीमा सुरक्षा चौकी थियो। त्यसपछि अहिलेसम्म ४६ स्थानमा चौकी स्थापना भइसकेका छन्।

सरकारले गत वर्षको मंसिर २३ गते थप ११४ चौकी स्थापना गर्ने निर्णय गरेपछि दक्षिणतर्फ २१ र उत्तरतर्फको सीमा क्षेत्रमा चार गरी २५ वटा बिओपी थपिसकिएको गृह मन्त्रालयले जनाएको छ। अहिलेसम्म दक्षिणतर्फ १२८ र उत्तरतर्फ चार बिओपी स्थापना भएका छन्।

सरकारले पहिलो चरणमा २२१ चौकी स्थापना गर्ने योजनाका साथ काम तीव्र पारिएको छ। गृहमन्त्री रामबहादुर थापा बादलका अनुसार सीमा क्षेत्रमा ५०० बिओपी बनाउने योजना अघि बढाइएको छ। त्यसअनुसार पहिलो चरणमा २२१ स्थानमा चौकी स्थापना गर्ने क्रम अन्तर्गत अझै ८९ स्थानमा चौकी स्थापना गर्नुपर्ने आवश्यकता छ।

चौकी स्थापनाका लागि सशस्त्र प्रहरीले गृह मन्त्रालयमा कार्ययोजनासमेत पेश गरिसकेको छ। उक्त कार्य योजनाअनुसार चौकी स्थापना गर्न नौ हजार सशस्त्र प्रहरी आवश्यक हुने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell