PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाल्पामा सलह भगाउन सकस, अन्नबालीमा पसेपछि धपाउन किसानले लगाए विभिन्न जुक्ति



रासस

पाल्पामा सलह भगाउन सकस, अन्नबालीमा पसेपछि धपाउन किसानले लगाए विभिन्न जुक्ति

पाल्पा : यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन्। शनिवार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए।

पाल्पामा सलह देखिए पनि ठूलो नोक्सानी भने भएको छैन। रुखका पातहरु खाएको र अन्नबालीमा भने दिउँसोतिर देखिएको छ। जिल्लाका तानसेन नगरपालिका तथा बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा र रम्भा गाउँपालिकाका केही भागमा शनिवार सलह देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले बताए। अधिकांश स्थानमा देखिएका सलह शनिवार नै केही गुल्मीतर्फ र केही फर्केर दोभान क्षेत्रमा रात बिताएको देखिएको छ।

कृषि ज्ञान केन्द्र प्रमुख अर्यालले अधिकांश सलह पाल्पा तिनाउँ गाउपालिका २ झयाङ्लाका बस्तीका रुखमा शनिवार रात बिताएको बताए।

उनले भने, ‘शनिवार रात परेकाले रुखमा बसेको देखियो, आज बिहान पनि वर्षा भएकाले सलह सक्रिय हुन सकेन। मौसम सफा भएपछि सलह आकाशमा उडिरहेकाले किसानले आगो बालेर धुवाँमय बनाउँदा अन्नबालीमा सलह बस्न सकेको छैन। कतिपय थाल बजाई अन्नबाली जोगाउन जुटेका छन्।’

स्थानीय स्रोत र साधनको प्रयोग गरी सलह नहटेमा रासायनिक औषधि प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले बताए।

तिनाउको झयाङ्ला गाउँ प्रदेश सरकारद्वारा सञ्चालित स्मार्ट कृषि गाउँ हो। यस क्षेत्रमा बाक्लो मात्रामा सलह रहेको छ। स्मार्ट कृषि कार्यक्रम, कार्यान्वयन समितिका अध्यक्ष चोपलाल जिसीले शनिवारदेखि झयाङ्ला क्षेत्रमा बास बसेको सलह आइतवार साँझसम्म आकाशमा उडिरहेको बताए।

‘वर्षा भएकाले बिहान सलह रुखमा नै देखिएको थियो। वर्षा कम भई मौसम सुधार भएपछि मकैबाली, सिमीमा पनि देखिएको छ’, जिसीले भने, ‘स्थानीय बासिन्दाले सहल धपाउन कोसिस गरिरहेका छन्। आगो बाल्ने, भाँडा बजाउने कार्य गरे पनि सलह आकाशमा उडिरहेको देखिएको छ।’

तिनाउ गाउँपालिकाका खुर्सानी, बगाहलगायत माथिल्लो भागमा सलह देखिएको स्थानीय बासिन्दा रुद्र जिसीले बताए। किसानलाई उत्पादित अन्नबाली खाने पिरलो छ। रुखका पात खाइसकेको छ। मकैबाली पाकेकाले स्याहार्ने चटारोमा रहेका किसानलाई धानको बीउ जोगाउन मुश्किल हुने जिसीको भनाइ छ। बगनासकाली गाउँपालिकाको बराङ्दी क्षेत्रमा पनि आइतवार साँझ सलह देखिएको स्थानीय बासिन्दा विष्णु घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell