काठमाडौँ : लकडाउनको समयमा सरकारले मानिसहरूको भिड हुने ठाउँहरू बन्द गरे पनि सञ्चालन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ।
सरकारको निर्णय विपरीत गएर सञ्चालन भएका पार्टी प्यालेस र होटलहरुलाई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो। विवाह लगायतका धार्मिक तथा सांस्कृतिक कार्यको नाममा पार्टी प्यालेस र होटेलहरूमा मानिसहरू जम्मा हुने, भिडभाड एवम् भोजभतेर गर्ने र धार्मिक तथा सार्वजनिक स्थलहरूमा मानिसहरू जम्मा हुने क्रम बढेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सूचना जारी गर्दै यस्ता गतिविधि नगर्न आग्रहसमेत गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को जेठ २८ गतेको बैठकले लकडाउन मोडालिटी परिवर्तन गरेको थियो। उक्त मोडालिटी अनुसार पार्टी प्यालेस, सिनेमा घर, जिम हल, ठुला सपिङ मलहरू, विद्यालय लगायतलाई संचानलमा रोक लगाएको थियो।
नेपालमा कोरोना सङ्क्रमणका बिरामी थपिँदै गएकाले सङ्क्रमण फैलिन सक्ने भन्दै यस्ता भिड हुने स्थानहरू सञ्चालन नगर्न प्रशासनले अनुरोध गरेको छ।
