PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विदेशबाट फर्किएकाहरु किन रोज्दैनन् होटल क्वारेन्टाइन?



वसन्तराज उप्रेती

विदेशबाट फर्किएकाहरु किन रोज्दैनन् होटल क्वारेन्टाइन?

काठमाडौं : युएईस्थित दुबईबाट केही दिन अघि हिमालयन एअरलायन्स्मार्फत नेपाल आइपुगेका वसन्त तामाङ काठमाडौंको एक होटलमा छन्।

कोरोना कहरका कारण स्वेदश फर्केका उनी नेपाली होटलको सेवामा सन्तुष्ट देखिएनन्। चर्को पैसा असुले पनि सेवा सुविधा नभएको उल्लेख गर्दै उनले नेपाल आउनुअघि धेरै कुरामा ध्यान दिनसमेत अपिल गरेका छन् प्रवासीहरुलाई।

'यदि तपाईंसङ्ग पीसीआरको प्रमाण छैन भने तपाईं कि होटलमा बस्न पर्छ- जुन महङ्गो पर्न जान्छ,' उनले भनेका छन्, 'कि त तपाईं सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्छ, जुन स्वास्थका दृष्टिकोणबाट पूर्ण सुरक्षित देखिन्न।'

अधिकांश आरडीटी टेस्ककै भरमा काठमाडौं आइरहेका छन्। त्यसमा सुरक्षित मानिएको होटलमा एउटा कोठाको प्रतिदिन ४ हजार रुपैयाँ तिर्नुपर्ने उनले बताए। वसन्तले भने, 'दिनको चार हजार तिर्नुपर्छ। दुई जना बसे दुई दुई हजार पर्छ। यस्तो बेला दुई जना बस्ने भन्ने त कुरा भएन।'

नेपाल आइपुगेपछि उनले सेयर गरेको यो अनुभव अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यस्तो असुरक्षित व्यवस्थापन झेल्न यतिबेला नेपाल नआउनसमेत उनले सुझाएका छन्।

यता एअर अरेबियाबाट काठमाडौं उत्रेका प्रतीक अधिकारीले दैनिक २५ सय रुपैयाँ तिरेर काठमाडौंको होटल क्वारेन्टाइन रोजेको बताए। अधिकारीले त्रिभुवन विमानस्थलमा दिइने पञ्जा हातमा नपस्ने र सरकारी क्वारेन्टाइन असुरक्षित रहेको बताएका छन्।

केही दिनअघि युएईबाटै काठमाडौं आइपुगेका गर्भवती महिलाहरुलाई पनि राम्रो व्यवहार नभएको गुनासो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। पछिल्लोपटक सेवा सुविधाबारे सामाजिक सञ्जालबाट पनि 'पब्लिक मार्केटिङ' भइरहेको हुन्छ। होटलहरुमा चर्को शुल्क लिने, सेवासुविधा राम्रो नहुने र असुरक्षित पनि देखिने भनी सामाजिक सञ्जालमा यसरी प्रचार भएपछि होटल क्वारेन्टाइनलाई सेवाग्राहीले रोज्लान् त?

सफल भएन होटल क्वारेन्टाइन

दुई महिना अघि सरकारले विदेशबाट फर्किएका नेपालीलाई होटल क्वारेन्टाइनमा राख्ने योजना बनायो। यो योजनासँगै होटल संघ नेपालले होटललाई क्वारेन्टाइन बनाउन दिने सहमति तयार पारे।

उनीहरुले कोरोना संक्रमणका कारण संकटमा रहेका होटललाई पुर्नजीवन दिनसकिने निष्कर्षसहित रुमरेट र खानाको मेन्यु सरकारलाई बुझाए। सरकारले विदेशबाट फर्किने नेपालीका लागि चार्टर उडान गर्ने टुंगो समेत लगायो। तर यो बीचमा चार्टर फ्लाइटमा सरकारले महँगो मूल्य राखेपछि लफडा सुरु भयो। सरकारले केही देशमा चार्टर फ्लाइटमार्फत नेपालीको रेस्क्यु गर्‍यो । र,सरकारले विदेशबाट फर्किएकाहरुले सेल्फ क्वारेन्टाइनमा बस्न मिल्ने प्रावधान ल्यायो। यो प्रावधानपछि होटललाई क्वारेन्टाइन बनाउने योजना 'टाइ टाइ फिस्स' भयो। संघका अनुसार विदेशबाट फर्किएका १० प्रतिशतभन्दा कम मात्रै होटलमा बसेका छन्।

सरकारले पिसीआर र आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ देखिएका यात्रुलाई घरमै सेल्फ क्वारेन्टाइन बस्न सकिने प्रावधान ल्याएपछि होटललाई क्वारेन्टाइन बनाउने योजना तुहिएको संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। उनका अनुसार उडान हुने एक दिन अघि बुकिङ गरेका प्राय यात्रु विमानस्थलबाट होल्डिङ सेन्टरमा पुगेपछि धमाधम घर फर्किने गरेका छन्।   

होटल क्वारेन्टाइनमै बस्ने कतिपय यात्रु दुई रात होटलमा बसेर घर फर्किने गरेको उनले जानकारी दिए।

'हामीले सोचे अनुसार होटल क्वारेन्टाइन बनाउने योजना अघि बढेन्। सरकारको समन्वय नभएकोले समेत होटलको प्रयोग हुन सकेन्,' उपाध्यक्ष शाहले भने, 'हामीले सबै मापदण्ड अपनाएर होटल संचालनमा ल्याउन तयार थियौं। तर सरकारका तर्फबाट समन्वय भएन।'

उनका  अनुसार कतारबाट स्वदेश फर्किरहेका नेपाली एप अलर्ट प्रमाणपत्रमार्फत आइरहेका छन् भने सिंगापुरबाट फर्किरहेका नेपाली फिट टु फ्लाइ प्रमाणपत्रको आभारमा नेपाल भित्रिरहेका छन्। शाहका अनुसार अन्य मुलुकबाट आइरहेका नेपालीले पिसीआर/आरडिटी प्रमाणपत्रको आधारमा भित्रिरहेका छन्।

'सरकारले तयार पारेको होल्डिङ सेन्टरमा हामी अहोरात्र खटिरहेका छौं। फ्लाइट हुने अघिल्लो दिन विभिन्न मुलुकबाट होटल क्वारेन्टाइन बुकिङको प्रस्ताव आउँछ। यात्रुको मागअनुसार बुकिङ गरिन्छ। सरकारले पिसीआर/आरटिडी नेगेटिभ देखिएकालाई घरमै सेल्फ क्वारेन्टाइन बस्न सकिने प्रावधान बनाइदिएपछि अधिकांश यात्रु घर फर्कनुहुन्छ,' वरिष्ठ उपाध्यक्ष शाहले भने। 

संस्थागत सामाजिक दायित्व  निभाउन खोज्दा पनि सरकारको तर्फबाट कुनै साथ सहयोग नभएको बताउँदै उनले भने,'यो विषम परिस्थितिमा निजी क्षेत्रका तर्फबाट सरकारलाई सहयोग गर्ने हाम्रो मूल उद्देश्य हो। पैसा कमाउनका लागि हामीले यो काम गरेका होइनौं।'

पोखरा क्षेत्रीय होटल संघ नेपालका अध्यक्ष विकल तुलाचनले स्वदेश फर्किएकाहरु सेल्फ क्वारेन्टाइन र नगरपालिकाको क्वारेन्टाइनमा बस्न थालेको बताए।

हाल पोखरामा रहेको तीनवटा पर्यटक स्तर होटलमा करिब ५५ जना नेपाली क्वारेन्टाइनमा बस्दै आएको उनले बताए।

'हामीले आफ्नो तर्फबाट स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै क्वारेन्टाइनको सुविधा सुरु गरिसकेका छौँ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले फलोअप गर्नु भएको छैन। होल्डिङ सेन्टरबाट होटलमा आउने यात्रु वीचमै घर गएको पनि पाइएको छ,'अध्यक्ष तुलाचनले भने।

सरकारको निर्देशनमा २५ वटा होटललाई क्वारेन्टाइन प्रयोजनका लागि तयार गरेको चितवन क्षेत्रीय होटल संघले अहिले सम्म स्वदेश फर्किएका एक जना पनि नेपाली नआएको जनाएको छ। स्वदेश फर्किएका कतिपय नेपालीहरु स्थानीय तहले तयार पारेको नि:शुल्क क्वारेन्टाइनमा बस्दै आएको संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए।

कहिले खोल्ने होटल?

सरकारले पूर्ववत रूपमा होटल खोल्ने मिति तय गर्नुपर्ने संघका उपाध्यक्ष शाह बताउँछन्। 'होटल खोल्ने मिति तय हुनुपर्‍यो। ६ महिना वा एक वर्ष कति समय लाग्छ। त्यो जानकारी दिएपछि हामीले पनि तयारी सुरु गर्थ्यौ,' उनले भने, 'अरु देशले अन्तर्राष्ट्रिय उडान गरिसकेका छन्। अब हामीले पनि स्वास्थ्य सुरक्षा अवलम्बन गरेर पर्यटन क्षेत्रलाई खुला गर्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell