PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आलिया भट् अभिनित ‘सडक’ सिक्वेल डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज हुँदै



पहिलोपोस्ट

आलिया भट् अभिनित ‘सडक’ सिक्वेल डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज हुँदै

महेश भट् निर्देशित ‘सडक २’ डिजिटल प्ल्याटफर्ममार्फत् प्रदर्शन हुने भएको छ। कोरोना भाइरस संक्रमण रोकथामका लागि बन्द गरिएका सिनेमा घरहरु खुल्ने टुंगो नभए पछि निर्माण युनिटले डिजिटल प्रदर्शन तय गरेको हिन्दुस्तान टाइम्समा जनाइएको छ।

फक्स स्टार स्टूडियोको प्रस्तुति रहेको फिल्ममा आलिया भट्, आदित्य रोय कपुर, सञ्जय दत्त, पूजा भट् लगायतको अभिनय रहेको छ। फिल्म जुलाई १० मा सार्वजनिक हुने बताइएको थियो।

निर्माता रहेका मुकेश भट्ले भनेका छन्,’कोरोना संक्रमितको संख्या बढ्दो छ। यस्तो अवस्थामा सिनेमा घर खुल्ने कुरा भएन। मानिसलाई आफ्ना र आफूलाई जोगाउनु छ। त्यसैले फिल्मभन्दा महत्वपूर्ण जीवन हो।‘

‘सडक २’ सन् १९९१ मा प्रदर्शन भएको सडकको सिक्वेल हो। फिल्ममा पूजा भट् र सञ्जय दत्तको मुख्य अभिनय रहेको थियो। ठूलो पर्दाका लागि बनाइएको यस सिक्वेल लगानी र निर्माताको पाटोलाई ध्यानमा राख्दै डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज गर्न लागेको बताइएको छ।

मुकेश भट्ले डिजिटल प्ल्याटफर्मलाई समस्याको ‘क्षणिक’ समाधान भएको बताउँदै भनेका छन् – ‘निर्माता र दर्शक दुबै सिनेमा घर रुचाउँछन्। कुनै उपाय नभएकाले डिजिटल प्ल्याटफर्म रोजेका हौं।‘

लकडाउनका कारण ठूला ब्यानरका फिल्महरु समेत डिजिटल माध्यममार्फत् प्रदर्शन भइरहेका छन्। अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित ‘गुलाबो सिताबो’ लकडाउन यता डिजिटल प्ल्याटफर्ममा रिलिज हुने पहिलो फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell