PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

ओलीको बोलीले बढाएको बहस, उठ्यो प्रश्न : नेकपा भित्र दिल्लीका एसेट्सहरुको बहुमत छ र?



पहिलोपोस्ट

ओलीको बोलीले बढाएको बहस, उठ्यो प्रश्न : नेकपा भित्र दिल्लीका एसेट्सहरुको बहुमत छ र?
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार आफूलाई हटाउन भारत लागिपरेको अभिव्यक्ति दिए।

ओलीले बालुवाटारमा आयोजित मदन भण्डारीको स्मृति सभामा बोल्दै नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन होटल र दूतावासमा सक्रियता बढेको बताएका थिए।

उनको अभिव्यक्तिले तरंग पैदा गरेको छ। उनको भनाइको सामाजिक सञ्जालमा टिप्पणी हुन हुन थालिहाल्यो।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले त प्रधानमन्त्री ओलीलाई हटाउने उचित समय कहिले रहेछ? भन्दै प्रश्न नै गरे।

उनले आइतवार नै ट्वीटर मार्फत् बहुमतप्राप्त ओलीलाई आफ्नै पार्टीबाहेक अरुले हटाउन सक्ने संविधानमा नभएको बताए।

'बहुमत प्राप्त केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन। तर, अहिले हटाए नक्सा छापेको करणले हुने! भोलि सलहले दु:ख दिएको बेला हुने! पछि बाढीपहिरो आएको बेला हुने! अलिपछि दशैंतिहारको बेला हुने! अनि जाडोको बेला हुने! उचित बेला चैं कैले र'च हँ?,' उनले ट्वीटमा भनेका छन्।

 

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका (राप्रपा) अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चार बुँदे धारणा राखेका छन्।

उनले नक्सा जारी गरेबापत् हटाउने प्रयास भइरहेको प्रधानमन्त्रीको विश्लेषण गलत भएको तर्क गरेका छन्। उनले ओलीले आफूलाई हटाउन आफैं कस्सिएर लागेको भन्दै शान्त भएर आफूलाई हेर्नसमेत् आग्रह गरे।

'तपाईँको विश्लेषण गलत छ किनभने तपाई आफूलाई हटाउन आफैं कस्सिएर लाग्नुभएको छ। एक पटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ,' उनले भनेका छन्।

लोहनीले नयाँ नक्सा जारी गर्दै सबैले साथ दिएको बताउँदै नेपालमा आफूबाहेक देशभक्त छैनन् भनेर ओलीले जनताको अपमान गरेको पनि आक्षेप लगाए। आफूबाहेक अरु विदेशबाट सञ्चालित छन् भन्ने दृष्टिकोण ओलीको कमजोर र हताश मनस्थितिको परिचय भएको लोहनीको टिप्पणी छ।

लोहनीले न्यारोबडी, बाइडबडी, ओम्नी लगायतका काण्डको छानविन गर्न माग गर्दै नेताहरुको सम्पत्ति छानविन गर्न आयोग गठन गर्न पनि सुझाए।

त्यस्तै नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्रीलाई तपाईँको पार्टीभित्र दिल्लीका एसेट्सहरुको बहुमत छ र? भन्दै प्रश्न गरेका छन्।

उनले नेकपा संसदीय दलभित्र दिल्लीका एसेट्सहरुको बहुमतबिना दिल्लीले प्रमबाट हटाउन नसक्ने दावी गरेका छन्। उनले ‌ओलीले आफ्नो असक्षमतालाई छोप्न वाइह्यात कुरा गरेको आरोप पनि लगाएका छन्।

'दिल्लीले आफुलाई हटाउन लागेको कुरा प्रधानमन्त्री ओलीले गरेछन्। प्रधानमन्त्रीजी! तपाईंको पार्टी भित्र दिल्लीका एसेट्सहरुको बहुमत छ र?,' धनराजले भनेका छन्, 'नेकपा संसदीय दलभित्र दिल्लीका एसेट्सहरुको बहुमतबिना तपाईंलाई दिल्लीले प्रमबाट हटाउन सक्दैन। अन्यथा, आफ्नो असक्षमतालाई छोप्न यस्ता वाइह्यात कुरा नगर्नुस्।'

त्यस्तै, उनले प्रधानमन्त्रीले सार्वजनिक खपतका लागि यस्तो कुरा बताएको जनाएका छन्।

धनराजले राति-राति दूत पठाएर भारतीय राजदूतलाई भेट्न लगाएको समेत आरोप लगाए। केही अघि प्रधानमन्त्री ओलीका प्रियपात्र मानिने पूर्व संचार मन्त्री गोकुल बाँस्कोटा भारतीय राजदूतसँग दूतावासमा नै भेट भएको सार्वजनिक भएको थियो।

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नलागेको तर आफू हटे देशको विषयमा बोल्ने मान्छे नै नभएको दावी गरेका थिए। आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न चेतावनी दिएका थिए।

ओलीको भनाइपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले आफूले स्थायी कमिटी बैठकमा राखेको धारणा सार्वजनिक गरेका छन्।

जसमा उनले कुर्सी फेरेर समस्या समाधान नहुने बताएका छन्। उनले स्थायी कमिटी बैठकमा जनताको आवाज अनुसार आफैंलाई बदल्नु आवश्यक रहेको बताए।

'कुर्सी फेरेर समस्या समाधान हुँदैन, चिन्तन बदल्नु पर्दछ। आजको बस्तुगत परिस्थिति अनुरुप जनता र देशको आवाज अनुसार आफैँलाई फेर्नुपर्छ। मुख्य गरी नेतृत्व टिमले त्यसमा पनि प्रमुख नेतृत्वले सहि ढङ्गले सोच्नु पर्छ र व्यवहार गर्नुपर्छ। राष्ट्र र जनता नै मुख्य कुरा हो,' उनले भनेका छन्।

शर्माले आफ्ना कमी कमजोरी स्वीकार्न र आफैलाई सच्याउने छलफल बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने कुरामा लाग्नुपर्ने बताएका छन्। रुपान्तरणका लागि पार्टी भित्र बहस, छ्लफल, आत्मालोचना र संघर्ष आवश्यक रहेको शर्माको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell