PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

'फुटबल टू फिल्म' अनिल गुरुङको यात्रा, भन्छन् : पर्दामा आफ्नै कथा हेरेर जीवनको समीक्षा गर्न सक्छु कि?



मुकुन्द घिमिरे

'फुटबल टू फिल्म' अनिल गुरुङको यात्रा, भन्छन् : पर्दामा आफ्नै कथा हेरेर जीवनको समीक्षा गर्न सक्छु कि?

तीन वर्षअघि नेपाली राष्ट्रिय फुटबलबाट सन्यास लिए अनिल गुरुङले। लामो समय फुटबलको मैदानमा उनले दिएको प्रस्तुतिकै कारण चर्चामा रहे। सन्यास लिनु अघिका दुई वर्ष राष्ट्रिय टोलीकै नेतृत्व पनि गरेका हुन्। जब राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरे तब उनको भूमिका बद्लियो। खेलाडीबाट कलाकार बन्ने भए उनी।

कोरोना महामारी नफैलिएको भए, लकडाउन नभएको भए – वर्ष २०७७ को सुरुवातमा त उनलाई पर्दामा देख्न पाउँथे दर्शकले। तर, महामारीका कारण सिनेमा घर ठप्प। अनि रोकियो, उनी अभिनित फिल्मको छायांकनदेखि प्रचार प्रसार र प्रदर्शनसम्मका काम।

मैदानदेखि सिनेमा घरका पर्दासम्मको यात्रा कसरी तय भयो त?

फिल्मी कुरा

फुटबलरकै रुपमा चर्चामा थिए उनी। त्यस समय पनि उनलाई केही म्यूजिक भिडियोमा 'फिचर्ड' हुने प्रस्तावहरु नआएका होइनन्। तर, उनको त करियर बेग्लै। खासै रुची देखाएनन्।

जब अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि भने फुर्सदिला बने। त्यस्तैमा करिव दुई वर्षअघि उनको भेट केही वर्षअघि भेट भयो सुन्दर थापासँग। जो पूर्व फुलबल खेलाडी त हुने नै साथै हाल सक्रिय छन् फिल्म निर्माणमा।

उनको अपार्टमेन्ट अगाडिको गार्डेनमा कुरा गरिरहँदा थप उत्साहीत हुँदै गुरुङले भने: 'हामी ठ्याक्कै यहीँ बसेर कुरा गर्दै थियौं। उहाँले कुरैकुरामा 'फुटबलको बारेमा फिल्म बनाउने सोचिरहेको छु। के छ विचार?' भन्नु भयो। मलाई उहाँको कुरा रोचक लाग्यो।'

रोचक लाग्नुको अर्थ आफै फिल्ममा खेल्न सहमति जनाउनु थिएन। तर, विषय बारे गम्भीर भएर कुरा गरेका सुन्दर थापाले भने अनिलको उत्साहलाई सामान्य रुपमा लिएनन्।

एकदिन दरवारमार्गस्थित एक क्याफेमा निर्देशक नारायण पुरीलगायतसहितको टोलीसँग भेट्न बोलाए अनिललाई।

'त्यस भेट पछि पो थाहा भयो फिल्म त आफ्नै बारेमा पो बनाउने कुरा रहेछ। अभिनय पनि मेरै', उनले आफै छक्क परेको त्यस क्षण सम्झिए।

फुटबल पृष्ठभूमि भएका अनिल। सुरुमा उनलाई 'यस्तो सम्भव होला र?' भन्ने लागेको थियो। तर, नियमित छलफल पछि उनले पनि आँटे। फुटबलकै सेरोफेरोमा रहेर गर्नु पर्ने अभिनय गाह्रो नहोला जस्तो लाग्‍यो। क्यामेरासँग नडराउने उनमा 'नआए सिकौंला' भन्ने भाव पनि जाग्यो।

अभिनयको तालिम दिइने आश्वासनले केही सहज बनायो वातावरण।

फिल्म बन्ने भयो। नाम 'भकुन्डो'। फिल्म अनिल गुरुङको बायोपिक भन्ने चर्चामा रह्यो। तर उनी स्वयं भने यसलाई 'सेमी फिक्सन' भन्न रुचाउँछन्।

'हुन त मेरै खेल जीवनमा आधारित कथा हो। तर पुरै होइन। कति कुराहरु काल्पनिक पनि छन्', उनले प्रष्ट्याए।

फिल्ममा उनले गाँउमा मोजाको बल बनाए हुर्कदादेखि गोल्डस्टार क्लबबाट सहारा एकेडेमी हुँदै नेपाली राष्ट्रिय फुटबलमा स्थापित हुँदासम्मका मिहेनत र संघर्षका कथाहरु देखाइने उनको दावी छ।

'फुटबल टू फिल्म' दुई फरक क्षेत्र तर दुवैमा बाँच्नु पर्ने परिवेश उही। फरक यत्ति थियो- एउटा रियल लाइफ अनि अर्को रिल। त्यसैले गुरुङलाई फिल्म गाह्रो लागेन। सुरुमा केही अप्ठ्याराहरु महसुस गरेका थिए, पछि बानी पर्दै गयो।

राष्ट्रिय टिमबाट सन्यास लिए पनि लिगका खेल खेल्न छाडेका छैनन्। बीग्रेड ब्वाइज क्लबका खेलाडी रहेका उनलाई सुरुमा त खेल र अभिनयका लागि समय मिलाउन देखि तालमेल मिलाउनै गाह्रो भएको थियो। त्यसैले फिल्म निर्माण प्रक्रिया केही लम्बियो। तर, गर्छु भनेर आँटेको काम बीचमा छाड्ने पक्षमा भने थिएनन् उनी।

'एमएस धोनी : द अनटोल्ट स्टोरी'ले निकै प्रभावित भए उनी। त्यसैले पनि फिल्मप्रति लगाव ह्वात्तै बढेको सुनाउँछन्। जुन उनले एक पटक हङकङ जाँदा फ्लाइटमा समय कटाउन हेरेका थिए।

'हुन त म पहिले देखिनै स्पोर्ट्स बेस्ड मुभीहरु हेरिरहेको हुन्थेँ। त्यसमध्य एमएस धोनीको बायोपिकले चाहिं निकै प्रभाव पार्‍यो', उनी भन्छन्।

त्यही समय हो उनलाई खेलसँग सम्बन्धित पनि राम्रो बायोपिक बन्ने रहेछ भन्ने लागेको। पछि आफ्नै जीवनमाथि फिल्म बन्ने भए पछि त एमएस धोनी लगायतको बायोपिक पटक पटक हेरे।

'त्यही लेभलको त नबन्ला तर समर्थहरुले हेरेर मन पराइदिनु हुन्छ भन्ने लाग्छ', उनले आशा व्यक्त गरे।

फिल्मको प्रि प्रोडक्सन देखि नै उनलाई सताइरहेको एउटा प्रश्नले भने धेरै पटक सोच्न बाध्य बनायो – आफ्नो बायोपिकमा आफै हिरो?

'सुरुमा त मलाई पनि केही अप्ठ्यारो लागेको थियो। साथीहरुले पनि प्रश्न गरे। तर शत् प्रतिशत फ्याक्टमा आधारित बायोपिक नभएकोले यसलाई सामान्य रुपमा हेरेको छु।'

नयाँ वर्षमा रिलिज टार्गेट गरेको फिल्मको गीत र केही दृश्य खिच्न बाँकी छ। लकडाउनका कारण प्रभावित फिल्म नेपाल र विदेशमा प्रदर्शनको तयारी समेत भइरहेको थियो। तर, महामारीका कारण काम रोकियो।

'राष्ट्रिय टिमसँगको सुटिङ बाँकी नै छ। अनि मैदानमा हुँदाका ओरजिनल भिडियोहरु पनि खोजिरहेका छौं। युट्युवमा त छ तर क्वालिटी ठूलो पर्दाका लागि त्यसले नपुग्ने रहेछ।'

फुटबल र फिल्म एउटै लेन्सबाट हेर्दा…

फुटबल र फिल्म विल्कुल फरक विधा। तर, केही पक्षमा यी दुई विधाबीच समानता महसुस गरे अनिलले।

पहिलो समानता त - टिमवर्क। फुटबलमा जस्तै फिल्म क्षेत्रमा पनि टिमवर्क अत्यावश्यक रहेको बुझे।

'फिल्ममा युनिट हुँदो रहेछ। लक्ष्य एउटै भए पनि काम बाढिएको। कठिनता बीच एकताले सहज बनाउने। रमाइलो पनि उत्तिकै', उनले सुनाए र फुटबलको टिमवर्कसँग तुलना गरे। 'फुटबलमा जस्तै।'

निर्माण प्रक्रियाभर चित्त नबुझेको एउटै विषय - फिल्म सोचेजस्तो रफ्तारमा अघि बढेन।

फिल्म बन्दाबन्दै निर्देशक नारायण पुरी अमेरिका गए।

गुरुङ आफै पनि लिगका लागि निस्किए। फिल्मकै कारण केही खेल गुमाएका पनि हुन्।

पछि फिल्मको निर्देशकीय पाटो सम्हाले शिव पुरीले।

यो सब भइरहँदा केही कुराहरुले भने उनलाई अचम्मित तुल्यायो। आफूले सामान्य अभिनय गरेको दृश्यहरु पनि पछि हेर्दा निकै परिवर्तन भएको पाए। इफेक्टहरुका बारेमा बुझे, जुन फुटबलमा सम्भव हुँदैन।

'छायाँकारले खिच्छन्। अनि पछि ल्याएर मलाई देखाउँछन्। अनि सोध्छन् : तपाईंलाई यो ठीक लागेको छ कि यो भन्दा अझै राम्रोका लागि ट्राइ गर्नुहुन्छ?', उनी हाँस्दै सुनाउँछन्,'यसो हेर्यो आफू नै छक्क पर्ने के।'

बाँकी कुरा दर्शक प्रतिक्रयाले बताउने भन्ने पनि पछि पर्दैनन् उनी। अनिलको त योजना नै छ यस फिल्म प्रदर्शनपछि फिल्म क्षेत्रमा रहने या नरहने भन्ने बारे निर्णय गर्ने।

'मैले अर्को फिल्म खेलेँ भने चाहीँ अभिनय सिक्छु। आफैलाई निखार्छु', भकुन्डोको प्रसङ्ग जोड्दै भन्छन्,'यदि यो फिल्म पनि फुटबलसँग सम्बन्धित हुन्थेन भने आवश्यक तालिम बीना गर्ने थिइँन।'

परिवारबाट लाहुरे बन्ने 'प्रेसर' थियो अनिललाई। तर उनी एकोहोरो फुटबलमा लागे। फिल्म क्षेत्रले बेला मौकामा आकर्षित पार्थ्यो तर फुटबल छाड्न सकेनन्। किनकि करियर त्यसैमा बनाउनु थियो।

संयोग मान्नु पर्छ सन्यासपछि आफ्नो रुचीको त्यो क्षेत्रमा जोडिने मौका पाए जसले उनलाई मैदान बाहिरको पनि 'हिरो' बनाउँदै छ।

रियल लाइफका केही पाटोहरुलाई रिलमा देखाउने प्रयत्न मान्छन् यस फिल्मलाई निर्देशक शिव पुरी। 'हामी यसलाई स्टोरी 'बेस्ड अन फुटबल प्लेयर' भन्छौं। बायोपिक भन्दैनौं। यथार्थसँगै कल्पनालाई पनि जोडेका कारण पनि यो बायोपिक होइन।'

नारायण पुरीले प्रि-प्रोडक्सनकै फेजमा छाडेका थिए फिल्म। त्यस पछि केही समय अन्यौलता छायो। छायांकनका लागि फ्लोरमै नउत्रिएकाले फिल्म नबन्न सक्ने सम्भवना उत्तिकै।

शिव पुरी भन्छन्,'तर त्यसो हुन दिएनौं। स्क्रिप्टमा पुनर्लेखन गर्‍यौं। आवश्यक परिवर्तन गर्‍यौं। आफ्नो कन्सेप्ट बने पछि सोही अनुरुप प्रोजेक्सन थाल्यौं।'

+++

अन्तर्राष्ट्रिय टिममा उनलाई मनपर्ने टिम म्यानचेस्टर युनाइटेड। सानैमा डेबिड बेहकमको खेलबाट इन्सपायर भएका उनी विश्वकपमा इङ्ग्ल्याण्डलाई सपोर्ट गर्छन्।

'मैले फुटबल हेर्न थाल्दा देखि नै डेभिड बेहकमलाई देखेँ। उनको खेललाई पछ्याउँदा पछ्याउँदै म्यानचेस्टर र इङ्ग्ल्याण्डको फ्यान भएँ,' उनले बिस्तार लगाए।

त्यसो त लकडाउन चलिरहँदा प्रिमियर लिग लगायतका युरोपियन लिगहरु पनि स्थगित थिए। पछि जर्मन बुन्डेसलिगा सुरु भयो। खाली स्टेडियममा खेलहरु हेर्दा उनलाई खास रमाइलो लागेन।

'खाली स्टेडियममा बल्लतल्ल बुन्डेसलिगा सुरु भयो। एउटा टिमलाई सपोर्ट नगरी हेर्दा त रमाइलै नहुने रहेछ', उनले अनुभवसँगै नेपाली ए डिभिजन लिग लक्षित व्यङ्ग्य मिसाएर भने,'खेल्न त त्यस्तै भइहाल्यो हेर्न पनि मजा आएन।'

अहिलेको फुटबल

अहिलेको फुटबलमा उनलाई चित्त नबुझेका धेरै पक्षहरु छन्। नेपाली फुटबलमा पछिल्लो समय 'लक'ले साथ नदिएको मानेका छन् उनले। लामो समयसम्म लिग रोकियो। भएको दशरथ रंगशाला पनि भुकम्पले भत्कियो। रंगशाला बनिसकेर एउटा लिग के भएको थियो कोरोना महामारी फैलियो। अनि तर सबै भताभुङ्ग।

तर, भाग्य वा दूर्भाग्यमाथि सबै दोष थुपार्ने पक्षमा छैनन्।

मुख्यत: एन्फाको राजनीतिलाई कारक मान्छन् उनी। त्यस्तै राष्ट्रिय टिममा पूराना खेलाडीहरु हट्दै जाँदा नयाँ खेलाडीहरु धेरै भए जसले लिगको अनुभव नै गरेका छैनन्।

उनी राष्ट्रिय टिमलाई बलियो बनाउन लिगमा जोड दिनुपर्ने देख्छन्। भन्छन्,'राष्ट्रिय टिममा लिगमा उत्कृष्ट ठहरिएका खेलाडीहरु हुनुपर्छ।'

लिग लामो समय रोकिनु। बल्लतल्ल निरन्तर भएका दुई लिग सोचेजस्तो राम्रो नहुनु र छोटा लिगहरु मात्र हुनुले खेलाडीलाई प्रत्यक्ष असर गरेको बुझेका छन्।

'पहिला त हाम्रो बाह्रै महिनाको करार हुन्थ्यो। त्यसो हुँदा हामीले फुल पेमेन्ट पाउँथ्यौ। ६ महिना लिग हुन्थ्यो अनि केही महिना बाहिरको गोल्डकप। त्यसपछिको पनि क्लबले पैसा दिन्थ्यो,'उनले भने, 'अहिले तीन महिनाको लिगलाई हेरेर ४ महिनाको करार भएको देख्छु।'

उनी अहिलेको करारमा रकम ठूलो देखिए पनि छोटो अवधिका लागि हुने भएकाले समग्रमा अवस्था अझ बिग्रिएको बताउँछन्।

'मानौं एउटा खेलाडीले १ लाख ५० हजार खायो रे। त्यो तीन महिना त्यति दिन के ठूलो कुरा भयो र? सक्ने हो भने त एक वर्षसम्मै दिन सक्नु पर्‍यो नि त,' उनी तर्क गर्छन्, 'अनि पो नेपाली फुटबलको हाइट माथि उठ्दै आयो भन्नु त। जस्तो मैले त्यतिबेला करार गर्दा ६५ दिन्थे रे। तर त्यो त वर्षभरी दिन्थे नि। कन्भर्ट गर्ने हो भने त त्यही ६५ हजार नै ठूलो देखियो।'

त्यही भएर पछिल्लो समय करार गर्ने पद्दती उनलाई मन परेको छैन। त्यसमा पनि लिग कसरी चाँडो सकौं भन्ने सोचले अझ असर पुर्‍याइरहेको उनी बताउँछन्।

लिगमा उपस्थित दर्शकहरुको संख्या र फुटबलप्रति मानिसको क्रेज पनि खुब सम्झन्छन् उनी।

'दुईवटा टिमको खेल हुँदा रंगशालामा कति मान्छे हुन्थे। काम छाडेर आउथे। प्याक हुन्थ्यो रंगशाला। आफूले समर्थन गर्ने समूहको पक्षमा चियर गर्थे। त्यो वातावरण अहिले छैन', गुरुङले तुलना गरे।

अवस्था सुध्रनेमा आशावादी त देखिन्छन् तर पुरस्कार कटौती लगायताका विषयमा खुलेरै असन्तुष्टी व्यक्त गर्छन्। देशका लागि खेल्ने खेलाडीहरुको पुस्कार कटौती हुनु दुखद भएको उनी बताउँछन्। त्यस्तै मोटरसाइकल लगायतका पुरस्कारमा पहिला जितेपछि सहजै लैजान सक्ने अवस्था भए पनि अहिले त्यो नरहेको उनले देखेका छन्।

फुटबलमा मैदानको समस्यालाई पनि ठूलो देख्छन्। 'जबसम्म सातै प्रदेशमा गतिलो फुटबल रंगशाला हुँदैन तबसम्म नेपालमा फुटबलको विकास हुँदैन', गुरुङले तर्क अघि सारे।

एन्फाको 'ग्रासरुट' कार्यक्रमबारे पनि गुरुङ सन्तुष्ट सुनिएनन्। बाहिरको ग्रासरुट हेरेर यहाँको ग्रासरुट हेर्नेहो भने यथार्थ छर्लङ्ग हुने उनी बताउँछन्। तर एन्फाले चाहेको खण्डमा यसलाई व्यवस्थित गरेर लैजान सक्ने उनी देख्छन्।

आफू राजनीति नजान्ने भएकाले फुटबल व्यवस्थापनमा जानेबारे खास नसोचेको बताउँछन्। उनले खेलाडी संघमा आफूले राजनीति गर्न नजान्दा धोका खाएको उदाहरण दिँदै राजनीतिका लागि आफू सोझो भएको बताउँछन्।

उनी अहिले फुर्सदमा आफ्ना पुराना खेलहरु हेर्छन्। पहिलेको खेलहरु अहिले हेर्दा उनलाई खेल करियरकै क्रममा पनि हाइलाइट्समात्र होइन आफ्नो पुरा खेल हेर्नुपर्ने रहेछ भन्ने लाग्छ।

‌‌‌+++

करियरको सुरुवात ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट ए डिभिजन लिगमा प्रवेश गरे। बीचमा विभिन्न क्लबहरुबाट खेले। केही ठूला केही साना। सन् २०१५ देखि २०१७ सम्‍म त राष्ट्रिय टिमकै नेतृत्व पनि गरे। राष्ट्रिय टिमका लागि ९ गोल गरेका उनले फिलिपिन्स विरुद्दको खेलबाट सन् २०१७ मा राष्ट्रिय टिमबाट सन्यास लिए।

हाल पुन: आफ्नो सुरुवाती क्लबमै फर्किएका छन्। र, बिबिसीबाटै फुटबल करियरको अन्त्य गर्ने उनको योजना छ उनको।

मैदानमा आफ्नो प्रस्तुति कस्तो भयो? समीक्षाका लागि आफ्नै खेलका भिडियोहरु हेर्छन् उनी।

'मेरो के गल्ती भयो?' 'कुन बललाई कसरी लिनु पर्ने रहेछ?' बुझ्नका लागि पनि खेल दोहोर्‍याएर हेर्नुको आवश्यकता महसुस गरे। हाइलाइट मात्र होइन पूरै खेल।

नयाँ खेलाडीहरुका लागि आफ्नो खेल हेर्ने सुझाव दिने उनी आफ्नै जीवनसँग जोडिएका विभिन्न पाटोलाई सिनेमाको पर्दामा हेर्दैछन्।

भन्छन्,'मैदानभित्र आफूले निभाएको भूमिकाको त फुटेज हेरेर समीक्षा गर्छु नै। सायद आफ्नै कथा माथि बनेको फिल्म हेरेर मैले बाँचेको समयको पनि समीक्षा गर्न सक्छु कि?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell