भारतको बिहारमा दाइजो नपाएको निहुँमा एक जना दुलाहा मण्डपबाटै फरार भएका छन्।
बिहारको नालंदा जिल्लामा शनिवार जन्ती लिएर दुलाहा दुलहीको घरतिर गए। नाचगानसहित जन्ती दुलहीको आँगनमा पुग्यो। दुलाहाको स्वागत गरेर मण्डपमा पठाइयो। तर, दुलाहा मण्डप जानु छोडेर जन्तीलाई त्यहीँ राखेर भागे।
चंडी थाना इलाकाबाट सुहावन दास अपनो छोरा विजेन्द्रको जन्ती लिएर बिहारशरीफ पुगे। जन्ती आँगनमा पुग्यो। सम्धी मिलन भयो। दुलाहा र दुलहीले एकअर्कालाई वरमाला पनि लगाइदिए। यसपछि भने दुलाहा एकाएक हराए। दुलहीका परिवारले थाहा पाए कि मोटरसाइकल दाइजो नपाउँदा बेहुला मण्डप नपुगी भागेका रहेछन्। विहे अगाडि नै दुलाहाले दाइजोमा मोटरसाइकल मागेका थिए। तर, दुलहीको परिवारको दिने आर्थिक हैसियत थिएन। विहेको दिनसम्म पनि दाइजो नपाएपछि असन्तुष्टि जनाउँदै दुलाहा फरा भए।
दुलाहा भागेपछि दुलहीका परिवार र गाउँले रिसाए। दुलाहाका पितासहित ५ जनालाई बन्धक बनाए। शनिवारको बिहे हुन सकेन। घटनाको जानकारी टाउन प्रहरी थानामा दिइयो। घटनास्थल पुगेर प्रहरीले दुलाहालाई फिर्ता बोलाउन बन्धन बनेका पितालाई आग्रह गरे। चौतर्फी दबाबका कारण आइतवार दुलाहा दुलहीको घर पुगे। त्यहाँ उनको रामधुलाई भयो। स्थानीय र आफन्तले उनलाई देख्ने वितिकै झम्टिहाले।
प्रहरी फेरि आइपुग्यो। दुलाहालाई कुटाईबाट बचायो। दुबै पक्षलाई थाना लगेर गयो। तर, दुलहीले बिहे गर्न अस्वीकार गरिन्। प्रहरीकै अगाडि दुलहीले लोभलालच भएको व्यक्ति आफ्नो पति हुन नसक्ने निर्णय सुनाइन्।
दुलहीको निर्णयपछि स्थानीय अगुवा, प्रहरी प्रशासनको प्रयासमा विहेमा लागेको खर्च दिने शर्तमा दुलाहाको परिवार घर फर्कियो। नगर थाना अध्यक्ष दीपक कुमारका अनुसार दुलहीले बिहे गर्न अस्वीकार गरेकी छिन्। तर दुलाहा पक्षविरुद्ध कुनै उजुरी दिएकी छैनन्।
