PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

त्रिविका सेमेस्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन



रासस

त्रिविका सेमेस्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनका कारण रोकिएका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ। सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेस्टर परीक्षाबारे निर्णय गर्ने बताए।

‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’, उनले भने, ‘अहिलेसम्म सेमेस्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ।’

कोभिड १९ का कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा स्थगित भएको थियो।

वार्षिक परीक्षा सञ्चालन हुने

जोशीले वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने जानकारी दिए। परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले लकडाउन हटेपछि नियमित परीक्षा गरिने बताए।

‘अहिले सबै विद्यार्थी घर गएका छन्। लकडाउन खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’, उनले भने, ‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ।’

त्रिविले गत चैत ७ गतेदेखि कोभिड-१९ को कारणले सेमेस्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो।

यसैगरी, पनिकाले लकडाउनका बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो।

परीक्षा नियन्त्रक जोशीका अनुसार स्नातक तहका व्यवस्थापन संकाय, मानविकी संकाय, शिक्षा र विज्ञान संकायका द्वितीय वर्ष तथा कानुन संकाय स्नातक र स्नातकोत्तर तह तथा मानविकी संकायका स्नातकोत्तर तहका पाँच विषयमा परीक्षाफल प्रकाशित गरिएको छ। यसैगरी, उनले चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकी संकायको प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित गरिने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell