PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंजमा जसपाको नागरिकता विधेयकविरुद्ध विरोध र्‍याली, प्रदर्शनमा देखियो गुटबन्दीको प्रभाव



राधेश्याम पटेल

वीरगंजमा जसपाको नागरिकता विधेयकविरुद्ध विरोध र्‍याली, प्रदर्शनमा देखियो गुटबन्दीको प्रभाव

वीरगंज : जनता समाजवादी पार्टी पर्साले मंगलवार वीरगंजमा विरोध र्‍याली निकालेको छ। राजपा पार्टी जसपामा समाहित भएपनि पर्सा जिल्लामा राजपाभित्र देखिएको गुटबन्दी मंगलवारको विरोध र्‍यालीमा पनि देखियो।

पूर्वराजपाको एक गुटले जसपाको ब्यानरमा स्विमिङपुलबाट र्‍याली निकालेर घण्टाघरमा आमसभा गर्‍यो। आमसभामा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले सरकारले विफलता ढाकछोप गर्न नागरिकता विधेयक ल्याएको दोषारोपण लगाए। उनले नेपाली बुहारीमाथि विधेयकले अन्याय गरेको दाबी गरे।

पूर्वमन्त्री करीमा बेगमले महिला र मधेस विरोधी विधेयक भएको आरोप लगाइन्। उनले राष्ट्रवादको नाममा विभेद लाद्न विधेयक ल्याइएको बताइन्। विधेयकले नेपाल-भारतबीचको सम्बन्ध बिगार्ने उनको भनाइ थियो। जसपाका नेता राजेशमान सिंहको अध्यक्षतामा आयोजित विरोध र्‍यालीमा शशिकपूर मिया, सुन्दर कुर्मी, उमेशलाल सहनी, खैरुद्दीन अन्सारीलगायतको सहभागिता थियो।

यसैगरी, जसपाको आयोजनामा घण्टाघरबाट विरोध र्‍याली निस्किएर नगरपरिक्रमा गरी सोही ठाउँमा विरोधसभा गरेको थियो। विरोधसभामा सांसद लक्ष्मणलाल कर्णले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले भारतसँगको रिस साँध्न नागरिकता विधेयक ल्याएको आरोप लगाए।

उनले विधेयकले विदेशी बुहारीलाई गुलाम बनाउन खोजेको बताए। नारीविरुद्ध लाग्दा रावणको साम्राज्य पनि समाप्त भएको भन्दै वर्तमान सरकार पनि धेरै दिन नटिक्ने उनले बताए। जसपाका रामनरेश यादव र जगदीश पटेलको संयुक्त अध्यक्षतामा भएको विरोधसभामा मुन्नी श्रीवास्तव, रामचन्द्र पडितलगायतले मन्तव्य व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell