PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कसले दर्ता गर्दैछ एमाले? स्थायी समितिमा शीर्ष नेताले लगाए प्रममाथि आरोप, ओलीको जवाफ, 'म नेकपाकै अध्यक्ष हुँ'



कुञ्जरमणि भट्टराई

कसले दर्ता गर्दैछ एमाले? स्थायी समितिमा शीर्ष नेताले लगाए प्रममाथि आरोप, ओलीको जवाफ, 'म नेकपाकै अध्यक्ष हुँ'

काठमाडौँ: नेकपा (एमाले) को नामबाट पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा परेपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएको छ। नेकपाका शीर्ष नेताहरुले एमाले दर्ताको लागि निवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै लगाएको आरोप लगाएका छन्।

मंगलबारको बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नामबाट पार्टी दर्ता गर्न कसले लगायो? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेका थिए।

'एमालेको नामबाट पार्टी दर्ता गर्न कसले लगायो? यसबारे स्पष्ट पार्नुपर्छ। यदि कसैले लगाएको भए कारबाही गर्नुपर्छ', प्रचण्डको अभिव्यक्ति एक सदस्यले सुनाए।

वरिष्ठ नेता झलनाथ खनालले एमाले पार्टी दर्ता गराउने ओलीको षड्यन्त्र भएको बताएका छन्।

'यो आश्चर्यको कुरा भयो। पार्टी फुटाउने प्रधानमन्त्रीको षड्यन्त्रपूर्ण काम हो। पार्टी फुटाउनका लागि यस्तो भएको हो', खनालले भने।

यस्तै उपाध्यक्ष बामदेव गौतमले निर्वाचन आयोगमा एमाले दर्ता गराउन ओलीको निर्देशन रहेको दाबी गरे। गौतमले प्रमाण पुर्‍याउन सक्ने पनि बताए।  

साथै गौतमले दल दर्ता गर्ने उपयुक्त बेला पनि नभएको सुझाव ओलीलाई दिए। 'एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्रीको निर्देशन छ भन्नेमा म विश्वस्त छु। अहिले यस्तो काम गर्ने बेला होइन', उनले बैठकमा भनेका छन्।

नेताहरुको आरोपपछि ओलीले बैठकमा जवाफ समेत दिए। 'बैठकमा प्रधानन्त्री ओलीले म यही पार्टीको अध्यक्ष हुँ भनेर भन्नुभयो', पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

स्थायी समिति बैठकमा केही दिनयता सीमा समस्याको विषयमा छलफल भइरहेको थियो। पार्टी दर्ताको लागि निवेदन दिएको विषय बाहिरिएपछि आजको बैठकको एजेन्डा बनेको थियो।

निर्वचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार झापाकी सन्ध्या तिवारीले नेकपा (एमाले) दर्ताका लागि सोमबार निवेदन दिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell