PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

स्थायी कमिटी बैठकमा ओलीविरुद्ध नेकपा शीर्ष नेताहरुको एकै स्वर : पदमा बस्ने धरातल भत्कियो, दुवै पद छाड्नुस्



कुञ्जरमणि भट्टराई

स्थायी कमिटी बैठकमा ओलीविरुद्ध नेकपा शीर्ष नेताहरुको एकै स्वर : पदमा बस्ने धरातल भत्कियो, दुवै पद छाड्नुस्
फोटो : रासस।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। मंगलवारको स्थायी कमिटी बैठकमा नेताहरुले दुवै पदबाट राजीनामा दिन माग गरेका हुन्।

बैठकको सुरुवातमा नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा प्रधानमन्त्री ओलीले दिल्लीले सरकारबाट हटाउन खोज्यो भन्ने अभिव्यक्तिको स्पष्टीकरण माग गरेका थिए।

‘अवस्था गम्भीर छ। तपाइको अभिव्यक्तिले भारतसँग हुन लागेको वार्ताको वातावरण पनि बिग्रन्छ। तपाईँले बोलेका कुराको प्रमाण के छ?,’ प्रचण्डले बैठकमा भने।

अध्यक्ष प्रचण्डले सरकारबाट हटाउन दिल्ली लागि नपरेको भन्दै दुवै पदबाट राजीनामा दिन आग्रह गरेका थिए।

उनले नक्सा पार्टको निर्णयबाट जारी भएको उल्लेख गर्दै नक्सा जारी भएपछि हटाउन खोजेको भन्ने कुरा समेत गलत भएको बताएका थिए।

‘पहिले पनि दिल्लीले राजीनामा माग गरेको कुरा गलत हो। मैले पहिले पनि तपाईँले पदमा बस्ने आधार गुमाइसक्नु भयो भनेको थिएँ। नयाँ नक्सा निकाल्ने काम पार्टीको निर्णयपछि भएको हो। अहिले हटाउन खोजियो भन्नु गलत हो। अब पदमा बस्ने आधार भत्कियो,’ प्रचण्डको भनाइ उद्त गर्दै एक सदस्यले भने।

त्यस्तै, बैठकमा वरिष्ठ नेता झलनाथ खनालले ओलीले पार्टी र सरकार सञ्चालन गर्न सक्ने हैसियत गुमाएको भन्दै राजीनामा दिन माग गरेका थिए। उनले ओली एकलौटी ढंगले चलेको र पार्टी विभिन्न विषयमा एकलौटी ढंगले चलेको बताएका थिए।

‘पार्टीमा गुट बनाउने काममा लाग्नुभयो। पार्टी कमिटी फर्मेशन, क्याविनेट, नियुक्तिका विषयमा पार्टीमा छलफल भएन्,’ खनालले भने।

त्यस्तै, ओलीले सरकारका नीति तथा कार्यक्रम लुकाएर प्रस्तुत गरिएको बताएका थिए। उनले पार्टीमा छलफल नभएकोमा आप्पति जनाएका थिए।

‘नीति तथा कार्यक्रम, बजेट लुकाएर प्रस्तुत गरियो। पार्टीमा छलफलद नै भएन। पार्टी सरकार सञ्चाल गर्नु पर्नेमा सरकारले पार्टी सञ्चालन गर्ने अवस्था बन्यो। अब ओलीको नेतृत्वमा पार्टी र सरकार पार लाग्दैन। राजीनामा दिनुस्,’ खनालले बैठकमा भनेका थिए।

उता वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गैर जिम्मेवारी कुरा गरेर नैतिक धरातल गुमाएको टिप्पणी गरेका थिए।

‘गैर जिम्मेवारी कुरा गर्नुभयो। पदीय हिसाबले यो कुरा बेठिक छ। यो कुराले तपाईँको नैतिक धरातल गुम्यो,’ नेपालले भनेका थिए।

उनले पार्टी विधि पद्धतीमा नचलेको र ओली स्वेच्छाचारी ढंगले सञ्चालन भएको बताएका थिए।

‘पार्टी विधि पद्धतीमा चलेको छैन। तपाईँ स्वेच्छाचारी ढंगले चल्नुभयो। यी कुराले पदमा बस्ने आधार गुम्यो,’ नेपालको भनाइ उद्त गर्दै एक सदस्यले भने।

उनले पार्टी एकाध व्यक्तिले निर्माण नगरेको भन्दै पुराना पुस्ताका नेताहरुलाई सम्मान हुन नसकेको बताएका थिए।

‘पार्टी बनाउन धेरै पुस्ताले त्याग गरेका छन्। पार्टी स्थापनाकाल देखिका नेताहरुको सम्मान भएन। पार्टी यहाँसम्म ल्याउनमा धेरैको योग्दान छ,’ उनले भने।

त्यस्तै, बैठकमा उपाध्यक्ष गौतमले ओलीले काम गर्न नसको बताएका थिए। उनले ओलीको राजीनामाको विकल्प नभएको धारणा राखेका थिए।

प्रधानमन्त्री ओलीले सो अभिव्यक्तिको जवाफ पनि दिएका थिए। तर, उनको जवाफ स्पष्ट नभएको एक सदस्यले सुनाए।

‘प्रधानमन्त्रीले किन भनेको भन्ने विषयमा स्पष्टिकरण त दिनुभयो। तर, उहाँको जवाफ गोलमोटोल थियो,’ उनले भने।

ओलीले पार्टीमा मिलेर जानुको विकल्प नभएको बन्दै आफू मिलेर जान तयार रहेको बताएका थिए। उनले होटलहरुमा भइरहेको गतिविधिले ढलाउने खेल स्पष्ट देखिएको बताएका थिए।

प्रधानमन्त्री ओलीले आइतवार मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा आफूलाई हटाउन दिल्ली पार्टी भित्रै केही लागि परेको बताएका थिए। त्यसपछि आजको बैठकमा सो एजेण्डामाथी छलफल केन्द्रित भएको थियो। आज १८ स्थायी कमिटी सदस्यहरुले धारणा राखेका थिए। अरु स्थायी कमिटी सदस्यहरुले पनि सरकारको आलोचना गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell