PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सात वर्षमा पनि बनेन वीरगंज-पोखरीया जोड्ने तिलावे पुल, डाइभर्सन वर्षाले बगाएपछि पुरानै पुलबाट आवागमन शुरु



राधेश्याम पटेल

सात वर्षमा पनि बनेन वीरगंज-पोखरीया जोड्ने तिलावे पुल, डाइभर्सन वर्षाले बगाएपछि पुरानै पुलबाट आवागमन शुरु

वीरगंज : ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने हुलाकी सडक अन्तर्गतको तिलावे पुल निर्माणमा ढिला भएपछि बन्द गरिएको पुरानो पुल पुनः सञ्चालनमा ल्याइएको छ। नयाँ पुल निर्माणका लागि ठेकेदारको आग्रहमा पुरानो पुलबाट सवारीसाधनको आवागमन बन्द गरिएको थियो।

सात वर्षदेखि पप्पु-लुम्बिनी जेभीले निर्माण थालेको तिलावे पुलको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन। नयाँ पुल निर्माणको लागि पिलर मात्र ठड्याइएको छ। पुरानो पुलबाट सवारी आवागमन हुँदा नयाँ पुल निर्माणमा समस्या भएको भन्दै ठेकेदारले अडचन लगाएपछि गत वर्षदेखि डाइभर्सन बनाएर पुरानो पुलबाट आवागमन बन्द गरिएको थियो।

आवागमन बन्द रहँदा पनि पुल निर्माण कार्य शिथिल नै भएपनि वर्षायाम शुरू भएयता बितेको असार १३ गतेदेखि पुरानो पुल सञ्चालनमा ल्याइएको हो। डाइभर्सनको अवस्था नाजुक भएको र पानीको बहाव बढेको खण्डमा डाइभर्सनबाट आवागमन रोकिन सक्ने सम्भावनालाई दृष्टिगत गरेर पुरानो पुल सञ्चालनमा ल्याइएको हो।

अहिले पुरानै पुलबाट सबैखाले सवारीसाधन गुडिरहेका छन्। नयाँ पुल बन्ने सम्भावना यस वर्ष पनि न्यून छ। तीव्र गतिमा पुल निर्माण गर्दा पनि थप एक वर्ष लाग्ने देखिन्छ। तर, यही गतिमा पुल निर्माण गर्ने हो भने आगामी वर्ष पनि पुल बन्ने सम्भावना निकै कम छ।

७ वर्ष अगाडि करिब ८ करोडको बजेटमा निर्माण शुरु भएको काममा पप्पु कन्सट्रक्सनले लापरबाही गर्दा सडक विभागले अहिले पप्पुको साझेदार काठमाडौंको लुम्बिनी डिलक्स कम्पनीलाई काम गर्ने जिम्मा दिएको छ। पुलको फाउन्डेसनमा एकातिरको मात्र काम भएको र अरु केही पनि नभएको लुम्बिनी डिलक्सका प्रबन्ध निर्देशक विष्णु शर्माले बताए। उनका अनुसार सरकारले आगामी फागुन मसान्तभित्र काम सम्पन्न गर्नु पर्ने अन्तिम म्याद दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell