PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भारतले सडक बनाइरहेको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरीको 'फोर्स मार्च' हुँदै, कस्तो छ त्यहाँ अहिलेको अवस्था?



कमलराज भट्ट

भारतले सडक बनाइरहेको लिपुलेक क्षेत्रमा सशस्त्र प्रहरीको 'फोर्स मार्च' हुँदै, कस्तो छ त्यहाँ अहिलेको अवस्था?

काठमाडौं : सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले भारतको कब्जामा रहेको नेपाली भूमि लिपुलेकमा गस्ती गर्ने भएको छ। यसपालि नेपाल-चीन एक नम्बर सीमा स्तम्भ तिंकर भञ्ज्याङ पुगेर गस्ती गरेको सशस्त्रको टोलीले अब लिपुलेकमा फोर्स मार्च गर्न लागेको हो।

दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डीएसपी डम्बरबहादुर विष्टले प्रतिकूल मौसमका कारण यसपालि लिपुलेक जान नसकिएको बताए।

‘प्रतिकुल मौसमका कारण हाम्रो टोली एक नम्बर पिल्लरबाटै फर्किएको छ। अब अनुकुल मौसम हेरेर छिट्टै लिपुलेकमा गस्ती हुन्छ,’ उनले भने। उनका अनुसार लिपुलेक एक नम्बर पिल्लरबाट करिब ७ किलोमिटर टाढा छ।

सन् १८१६ को सुगौली सन्धीअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो। तर, भारतले आफ्नो दावी गर्दै कब्जा जमाएर बसिरहेको छ। कालापानी र लिपुलेकमा पक्की बाटो बनाइरहेको छ। नेपाली भूमिमा भारतले मानसरोवर जोड्ने फराकिलो सडक बनाएपछि नेपाल सरकारले निर्माण कार्य तत्काल रोक्न दुई महिनाअघि नै आग्रह गरेको हो। तर, भारतले अटेरी गर्दै निरन्तर सडक बनाइरहेको छ। यस्तो बेला कालापानी क्षेत्रको नेपाली गाउँ छाङरुमा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)बाट सशस्त्रको टोली त्यहाँको वस्तुस्थिति बुझ्न लिपुलेक जाने तयारीमा जुटेको हो।

बीओपी प्रमुख इन्स्पेक्टर लिलीबहादुर चन्दले माथितिर हिउँ धेरै भएकाले लिपुलेक जान नसकिएको बताए।

‘हिउँ धेरै भएकाले माथि लिपुलेकतिर जान सकिएन। हिउँ नपरेको भए जान्थ्यौं। अर्को पटक उपयुक्त समयमा जान्छौं,’ इन्सपेक्टर चन्दले भने। उनका अनुसार चीनतर्फ हिउँ धेरै छ।

चन्दकै कमाण्डमा १३ जनाको टोली असार ३ गते छाङरुबाट तिंकर भञ्ज्याङ (१७ सय फिट उचाईं) स्थित सीमा स्तम्भतर्फ गएको थियो। टोली ७ गते छाङरुतर्फ फर्किएको थियो। टोली माथि उक्लेकै दिन असार ३ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रधान सेनापति पूर्णचन्द्र थापा सीमा तथा सडक निरीक्षणका लागि हेलिकोप्टरबाट छाङरु पुगेका थिए। उनीहरुले तिंकरको हवाई निरीक्षण समेत गरेका थिए। सेनाले खलंगाबाट छाङरु पुग्ने घोडेटो बाटो बनाइरहेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्‍ता डीआईजी प्रविणकुमार श्रेष्ठले अहिले छाङरुको टोली एक नम्बर पिल्लरसम्म मात्रै पुग्न सकेको र छिट्टै लिपुलेक गस्तीमा जाने बताए। स्थानीयका अनुसार लिपुलेकमा अनुकुल मौसममा भारतीय सुरक्षाकर्मी पाल टाँगेर बस्छन्। एपीएफ टोली लिपुलेक पुगेर त्यहाँ भारतले गरिरहेका गतिविधि निगरानी गर्नेछ।

लकडाउनले नाका बन्द, छैन चहलपहल

गस्तीमा एक नम्बर पिल्लरसम्म पुगेका प्रहरी निरीक्षक चन्दले लकडाउनका कारण ताक्लाकोटको नेपाल-चीन नाका बन्द रहेको जानकारी दिए। उनका अनुसार तिंकरमा अहिले सुनसान छ। एक त सदरमुकाम खलंगाबाट धेरै मानिस फर्किएका छैनन्। दोस्रो, लकडाउने नाका बन्द हुँदा करोवार ठप्प भएपछि आवतजावत शून्य छ। अरु बेला ताक्लाकोट जान तिंकरमा चहल पहल हुने गर्छ। चन्द नेतृत्वको एपीएफ टोलीले भेडाबाख्रा चराउनेबाहेक कसैलाई पनि बाटोमा भेटेन। टोलीले तिंकरका बासिन्दाको घरमा बास बस्दा राम्रो स्वागत सत्कार पाएको थियो। ‘हामी गएपछि स्थानीयले सुरक्षित महसुस गरेका छन्। सहयोगी छन्,’ चन्दले भने।

२०१८ सालमा निर्माण भएको सीमा स्तम्भको अवस्था राम्रो रहेको चन्दले जानकारी दिए। उनीहरु छाङरुबाट २१ किलोमिटरको दुरीमा तिंकर र त्यहाँबाट १० किलोमिटर दुरी पार गरेर सीमा स्तम्भ पुगेका थिए। यहाँबाट लिपुलेक ७ किलोमिटर दुरीमा छ। अब लिपुलेक जाने इन्सपेक्टर चन्द सुनाउँछन्।

बेहाल छ प्रहरी चौकी

छाङरु र तिंकरमा नेपाल प्रहरीको चौकी छ। दुवै ठाउँको चौकीको अवस्था नाजुक छ। छाङरुको सीतापुलमा भने आधुनिक भवन बनाउन बजेट विनियोजन भइसकेको छ। प्राविधिक टोलीले काम थालिसकेको छ। तर, तिंकरमा भने प्रहरी चौकी अझै जिर्ण छ। चन्दले देखेअनुसार छियालेकमा रहेको सीमा प्रहरी चौकी जिर्ण अवस्थामा छ।

‘पुरानै भवन छ। बस्नै समस्या। छानो उडाएको छ। गुजारा गरेर बसिरहेको अवस्था छ,’ उनले सुनाए। यो चौकी तिंकरबाट ३ किलोमिटरको दुरीमा छ। अहिले त्यहाँ १२ जना प्रहरीहरु खटिएका छन्।

तस्करको भागाभाग

छाङरु र तिंकरमा सुरक्षाकर्मीको उपस्थिति भएपछि तस्करहरु आउन छोडेका छन्। प्रहरी र सशस्त्रले नियमित गस्ती गर्न थालेपछि भारतीय तस्करहरुको भागभाग भएको हो। स्थानीयका अनुसार यहाँ पहिला भारतीय तस्करले नेपाली वनबाट काठ र जडिबुटी तस्करी गरेर भारततर्फ लगेर जान्थे। अहिले त्यो रोकिएको छ। कालापानीको कौवा जंगलबाट भारतीयले काठ तस्करी गरेर लैजान्थे। अहिले त्यो पूर्ण रुपमा रोकिएको इन्सपेक्टर चन्द बताउँछन्।

तस्करी गर्न खोला तथा नदीमा राखिएका काठेपुल पनि भत्काइएको चन्दले जानकारी दिए। उनको टोलीले मात्रै भारतीयले राखेको दुईटा पुल भत्काइदिएको छ। गस्ती हुन थालेपछि स्थानीयले नै ती पुल हटाएको चन्दले बताए।

त्यसैगरी, गुञ्जीका स्थानीय बासिन्दाले कालापानी जान भारतीय पक्षले बनाएको अस्थायी काठेपुल भत्काइदिएका छन्। सशस्त्र प्रहरी गस्तीमा आएका बेला स्थानीयले नेपाली भूमिमा बनाएको पुल हटाएका हुन्। गुञ्जी नेपाली गाउँ हो। कालापानीमा कब्जा जमाएको भारतले नेपाली गाउँहरु गुञ्जी, नाभी र कुटीलाई पनि आफ्नो नियन्त्रणमा राखेको छ।

भारतले बनाउँदैछ ‘पिच रोड’

छाङरुमा बीओपी खुलेको डेढ महिना भइसकेको छ। इन्स्पेक्टर चन्दका अनुसार महाकाली पारी भारतले धमाधम पिच रोड बनाइरहेको छ। आकाशमा हेलिकोप्‍टर उडेका उड्यै छन्। महाकालीमा भारतीय पक्षले ब्लास्टिङ गरेका आवाज सुनिन्छ। धेरै ठाउँमा ठूला ढुंगा खस्दा नदी साँघुरिएर थुनिने खतरा पनि छ। वहाव पनि बढेको छ।

यसका अलावा छाङरुको बीओपीले पारी भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग पनि समन्वय गरिरहेको छ। खबरहरु आदानप्रदान हुँदै आएको छ। प्रहरी निरीक्षक चन्दले विवादित बाहेक नेपाली भूभागमा गस्ती गर्न एसएसबीले नरोकेको बताए। ‘सीमामा रोकेको छैन। हाम्रो गस्ती निर्वाध रुपमा भइरहेको छ,’ उनले भने।

एक नम्बर पिल्लरमा नियमित गस्ती

दार्चुलास्थित सशस्त्रका डीएसपी विष्टले नेपाल-चीन एक नम्बर पिल्लरमा नियमित गस्ती भइरहेको बताए।

‘छाङरुको टोली फोर्स मार्च गरेर भर्खरै फर्किएको छ। तिंकरको एक नम्बर पिल्लरमा हाम्रो नियमित गस्ती हुँदै आएको छ,’ उनले भने। उनका अनुसार एक नम्बर पिल्लरमा यसअघि गुल्मबाट थुप्रैपटक गस्ती भइसकेको छ। बीओपीबाट भने पहिलोपटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell