
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेले पार्टीका कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी नहुने चेतावनी दिएका छन्।
पाण्डे आज दिउँसो २ बजेको लागि बोलाएको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकमा पनि उपस्थिति नहुने बताए। 'मेरो मागको सुनुवाई नभएसम्म म पार्टीले गर्ने कुनै पनि बैठक तथा कार्यक्रममा सहभागी हुने छैन,' नेता पाण्डेले भने।
कमल थापा नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी र अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वको पार्टी एकीकरण भएर राष्ट्रिय प्रजातन्त्र पार्टी भएको छ। दुवै पार्टी एकीकरण भएपछि केन्द्रीय सदस्यहरू कटौती भएपछि नेता पाण्डेले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
नेता पाण्डेले दुवै पार्टी एकीकरणअघि भएका केन्द्रीय सदस्यलाई समेट्नु पर्ने माग राखिरहेका छन्। 'यति उति सदस्य भन्ने होइन। दुवै पार्टीका केन्द्रीय सदस्यहरूलाई समेट्नु पर्यो भन्नेमात्र मेरो माग हो,' नेता पाण्डेले भने।