PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'मदनको मोहले पार्टी दर्ता प्रक्रिया थालेका हौं,' नेकपा एमालेका महासचिव : अहिले साढे पाँच सय सदस्य छन्



कुञ्जरमणि भट्टराई

'मदनको मोहले पार्टी दर्ता प्रक्रिया थालेका हौं,' नेकपा एमालेका महासचिव : अहिले साढे पाँच सय सदस्य छन्

काठमाडौं : दुई दिन यता  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको एजेन्डा नै फेरिएको छ।

नेकपा बैठकमा सीमा समस्याको विषयमा छलफल भइरहेको थियो। निर्वाचन आयोगमा नेकपाको पूर्ववर्ती दल एमालेको नाममा पार्टी दर्ताको निवेदन परेपछि छलफलको विषय मोडियो।

मंगलवारको बैठकको सुरुवातमा नै अध्यक्ष पुष्पमल दाहाल प्रचण्डले एमाले दर्ताका लागि कसले लगायो भन्दै अध्यक्ष ओलीसँग जवाफको माग गरेका थिए।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले त अध्यक्ष ओलीकै निर्देशनमा एमाले दर्ता गर्न लगाएको बताएका थिए।

वरिष्ठ नेता झलनाथ खनाललगायतले षड्यन्त्रपूर्ण रुपमा पार्टी दर्ताका लागि निवेदन दिइएको बताएका थिए।

बैठकमा अधिकांश सदस्यहरुको आक्षेप प्रधानमन्त्रीतर्फ तेर्साएका थिए।

नेकपा एमालेको दर्ताका लागि विराटनगर ६ मोरङकी सन्ध्या तिवारीको अध्यक्षमा २१ जनाको नामावली आयोगमा बुझाएको छ।

एमाले पार्टीको महासचिवमा धनुषाका मनिष कुमार उपाध्याय छन्। नेकपाबाट नै पार्टी दर्ताका लागि निर्देशन भएको कुरा भने मनिषले ठाडै अस्वीकार गरे।

'हामीलाई केपी शर्मा ओलीले पनि भन्नु भएको होइन। पुष्पकमल दाहाल प्रचण्डले पनि भन्नुभएको होइन। हामी स्वतन्त्र युवाहरुले दल दर्ताका लागि निवेदन दिएका हौं। अरुको होइन मदन भण्डारीको मोहले पार्टी दर्ता गर्न लागेका हौं।'

उनले पार्टी दर्ताका लागि कसैको दबाव र प्रभाव नभएको पनि बताए।

'पार्टी दर्ता प्रक्रियामा छ। दर्ता भइसकेपछि सम्पूर्ण जानकारी दिनेछौं, ' उनले भने।

पार्टीको नाम नेकपा एमाले नै किन रोज्नुभयो? जवाफमा उनले भने, 'मदन भण्डारीको योगदानलाई सबैले बिर्सिए। हामी उहाँको पथमा हिड्न चाहन्छौं। त्यसैले मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसर पारेर हामीले पार्टी दर्ताको निवेदन दिएका हौं,' उनले भने।

पार्टी दर्तका लागि ३-४ महिनादेखि नै तयारी भएको उपाध्यायले सुनाए। उनले पार्टीमा हाल साढे ५ सय सदस्यहरु  भएको बताए।

उनले आफू पहिले एमालेको कुनै पदमा आबद्ध नभए पनि आस्था रहेको भने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell