PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बुधवारको बैठकमा पनि उठ्यो ओलीको राजीनामाको विषय: 'नेताहरुको पावर सेयरिङ नमिल्दा झगडा भयो'



प्रकाश भण्डारी

बुधवारको बैठकमा पनि उठ्यो ओलीको राजीनामाको विषय: 'नेताहरुको पावर सेयरिङ नमिल्दा झगडा भयो'

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको बुधवारको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय उठेको छ। बिहान ११ बजे सुरु भएको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेपछि बैठक स्थगित भएको थियो। आज धारणा राख्ने ५ जनामध्ये ४ जनाले मध्यमार्गी लाइनबाट आफ्नो धारणा राखे पनि मातृका यादवले भने प्रधामन्त्री ओलीको राजीनामा मागेका थिए। उनले प्रधानमन्त्रीले धेरैपटक गल्ती गरिसकेकाले राजीनामा नै उत्तम विकल्प भएको धारणा राखे। 'पार्टीमा देखिएको संकट तपाइले मात्रै पार लाउन सक्नुहुन्न। त्यसैले अब मार्ग प्रसस्त गर्नुस्,'उनले बैठकमा भने, 'सरकारले एकपछि अर्को गल्ती गरेको छ। त्यसैले आज संकट देखियो।'

अरु चार जना स्थायी कमिटी सदस्यले भने प्रधामन्त्री सच्चिएर सहमतिको बाटोमा सबै नेताहरु अघि बढ्नुपर्ने बताएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। आजको बैठकमा स्थायी कमिटी सदस्यहरु मातृका यादव, योगश भट्टराई, लिलामणी पोखरेल, नन्द प्रसाई र पेशल खतिवडाले बोलेका थिए। प्रधानमन्त्रीलाई सच्चिएर जानुपर्ने धारणा राख्नेमा स्थायी कमिटी सदस्य तथा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराई छन्। उनले प्रधानमन्त्रीले अबका दिनमा सच्चिएर पार्टीको एकता बचाउनेमा लाग्नुपर्ने बताए। भट्टराईले एकताका लागि प्रधानमन्त्रि सच्चिनुको विकल्प नभएको धारणा राखेका थिए। सचिवालयका सदस्य सच्चिएर पार्टीको एकता जोगिने भन्दै उनले सचिवालयका सदस्य मिल्नुनै अहिलेको संकट समाधान भएको सुझाए।

आसार १० गते सुरु भएको स्थायी कमिटी बैठक बुधवार केहीबेर बसेर स्थगित भएको हो। अर्को बैठक बिहीवार बिहान ११ बजे बस्ने छ।

नेकपा स्थायी कमिटी बैठक कसरी अगाडि बढ्ला?

स्थायी कमिटी सदस्य शाहको विचारमा बैठकमा नेताहरुले तीन थरी धारणा व्यक्त गरिरहेका छन्। ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद छाडनुपर्ने एकथरीको धारणा छ भने अर्कोथरीले विगतको सहमति पालना गर्दै सच्चिएर जानुपर्ने अडान लिएका छन्, जसलाई शाहले मध्यमार्गी विचार भएको बताए। बाँकी नेताहरुले भने ओली र उनी नेतृत्वको सरकारको कमजोरी नै नभएको भन्दै बचाउ गरेका छन्, जसलाई शाहले पुरानो विचार भएको टिप्पणी गरे। पार्टीमा पावर सेयरिङ नमिलेकाले अहिलेको विवाद आएको उनको भनाई छ। शाहले नेताहरु जति आक्रमक देखिएपनि पावर सेयरिङको मुद्दा मिलेमा ओलीमाथि देखिएको संकट टरेर जाने बताए। अब बस्ने बैठकमा बोल्ने धेरैजसो नेताहरुले प्रधानमन्त्रीको बचाउमा बोल्ने शाहको भनाई छ। 'उहाँको पक्षबाट बोल्ने त बाँकी नै छन् नी। उहाँलाई सुरुदेखि नै काँध थापेरै हिडनु भएको छ,' उनले भने।

स्थायी कमिटीको सुरुवातमा अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए। मंगलवारको स्थायी कमिटी बैठकमा बोलेका १७ जना नेताहरुले ओलीको राजीनामा मागेका थिए। नेकपाका शीर्ष नेताहरुले राजीनामा मागेपछि बुधवार बिहान ओलीले बालुवाटारमा आफू निकट नेता र मन्त्रीहरुलाई छलफलका लागि बोलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell