PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित



पहिलोपोस्ट

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं : संघीय सदन अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।

नेपाली काँग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

त्यस्तै, आजको राष्ट्रिय सभाको बैठक पनि छन्त्यालको शोक प्रस्ताव पारित गरी स्थगित भएको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमवार अपराह्न १ बजे बस्नेछ। राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते १ बजे बस्नेछ।

सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन्। सामाजिक एवम् ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell