PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

'लेडी भिलेन; रेस्लर' : नव गठित एमालेकी उपाध्यक्ष, 'टिम बनाउन पार्टी दर्ता'



प्रकाश भण्डारी

'लेडी भिलेन; रेस्लर' : नव गठित एमालेकी उपाध्यक्ष, 'टिम बनाउन पार्टी दर्ता'

काठमाडौं: सन्ध्या तिवारीको अध्यक्षतामा गठित नेकपा एमालेमा पूर्व एमालेको खेलकुद विभागकी भगवती खड्का उपाध्यक्ष रहेको खुलेको छ। मदन भण्डारी ६९ औं जन्म जयन्तीका दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवदेन दिन पुगेकामध्ये आफू नवगठित पार्टीको उपाध्यक्ष र पूर्व एमालेको खेलकुद विभागको सदस्य भएको खड्काले बताइन्।

उनले एमालेप्रति आस्था भएकाले सानैदेखि पार्टीको समर्थक र २०७० सालबाट संगठित भएको बताइन्। कोही कसैले भनेर पार्टी दर्ता नगरेको उनको भनाई छ। 'कसैले भनेर पनि होइन। हामीले टिम बनाउनका लागि दल दर्ता गरेका हौं। बाहिर के के चर्चा हुन्छन्। सबै कुराको जिम्मा लिने कुरा भएन,' खड्काले भनिन।

प्रधानमन्त्री केपी ओलीले आफूलाई दल दर्ताको निवेदन दिन नभनेको र नेकपाको कोही नेतासँग सम्पर्क नभएको उनको दावी छ। नेकपा स्थायी कमिटीको मंगलवारको बैठकमा सचिवालय सदस्य वामदेव गौतमले ओलीले नै एमाले दर्ता गर्न लगाएको आफूसँग प्रमाण भएको दावी गरेका थिए। आफूलाई राजनीतिका बारेमा खासै केही थाह नभएको उनको भनाई छ।

किन दल दर्ता गर्नु भएको हो? जवाफमा खड्काले साथीरुको सामान्य टिम बनाउनमात्रै दल दर्ता गरेको बताइन्।

'मलाई केही पनि थाहा छैन। एउटा टिम बनाउनका लागि मात्रै गरेका हौं। राजनीतिक उद्देश्य पनि होइन।'

नेकपाभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला दल दर्ताले खैलाबैला मच्चिएको छ। सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यले ओलीलाई दुवै पद छाड्न भनेका छन्। राजीनामा दिनुपर्ने दबावपछि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी, आफूनिकट मन्त्री तथा नेताहरुसँगको छलफल तीब्र बनाएका हुन्।

को हुन् भगवती?

रामेछाप, मन्थली नगरपालिका–१२, अम्बास बेलीकी भगवती जनयुद्धमा पनि भाग लिएकी थिइन्। माओवादीमा बन्दुक बोक्न बाध्य बनाएको भन्दै उनी तीन महिनापछि भागेर घर आएकी थिइन्।

पढ्दापढ्दा राजेश हमालको फ्यान भएको बताउने उनी हमाललाई पाउँ भन्दै ब्रत बसेकी थिइन्।

एसएलसीपछि पद्म कन्या क्याम्पसमा भर्ना भएकी उनले ‘नाता बन्धन जिन्दगीको’ सिरियलमा अभिनय गरेकी थिइन्।

भारोत्तोलन खेलमा राट्रिय खेलाडीमेत रहेकी उनी गायिका पनि हुन्।

'यूनिका' नामक एल्बम निकालेकी उनले नयाँबजारमा केही समय रेष्टुरेन्टसमेत सञ्चालन गरेकी थिइन्।

एक्सन कला सिकेर भोजपुरी फिल्म ‘प्रतिकार’मा 'लेडी भिलेन'को रोलमा समेत अभियन गरेकी थिइन् उनले।

रक्षक, वर्षात्, नाइट क्वीन, हवल्दार सुन्तली, हिम्मतवालीलगायत गरी २ दर्जनभन्दा बढी नेपाली चलचित्रहरुमा अभिनय गरेकी उनी नेपालको पहिलो महिला रेस्लरसमेत हुन्।

सम्बन्धित समाचार

रेस्लिङ रिङमा महिला : भगवती जसको जीवन नै रिङ र राउन्डबाट बाहिरिएन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell