काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको जारी स्थायी कमिटीको बैठकमा अप्रत्यासित रुपमा विषय प्रवेश पायो - नेकपा एमाले पार्टीको दर्ता प्रक्रिया। वामदेव गौतमले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी दर्ता गर्न लगाएको प्रमाण रहेको बताएका थिए।
यसरी पार्टी दर्ता गर्नेहरु राजनीतिका पुराना खेलाडी होइनन्। निर्वाचन आयोगका अनुसार पार्टी दर्ताका लागि दिइएको निवेदनमा उल्लेख नामहरु यसअघि राजनीतिमा चर्चामा रहेका कोही पनि छैनन्।
निर्वाचन आयोगमा दर्ता गरिएको निवेदनमा उल्लेख भएका नाममध्ये २२ वर्ष देखि ७२ वर्ष उमेर समूहसम्म पार्टीका सदस्य छन्।
सबैभन्दा बढी उमेरकी तारादेवी शाही छन्। उनी सुदूरपश्चिम प्रदेशकी सचिव हुन्। सिराहाका निश्चल बस्नेत २२ वर्षका छन्। त्यस्तै, प्रदेश १ का सचिवमा रहेकी अस्मिता सुनार खोटङकी हुन्। उनी २३ वर्षकी हुन्। अध्यक्ष सन्ध्या तिवारी मोरङ निवासी रहेको निर्वाचन आयोगमा दर्ता गराएको निवेदनसँगै प्रस्तुत गरेको पदाधिकारीको सूचीमा देखिन्छ। उनी ४७ वर्षकी हुन्।
त्यस्तै, कर्णाली प्रदेशका सचिव हिराबहादुर बोहोरा डोल्पाका हुन्। उनको उमेर २६ वर्ष छ।
पार्टी उपाध्यक्ष भगवती खड्का रेस्लर हुन्। उनी ३२ वर्षकी हुन्। र, ७० सालमा नेकपा एमालेमा संगठित भएको उनले बताएकी छिन्। उनले पार्टी दर्ताबारे बुझ्न खोज्दा टिम बनाउनलाई बनाएको बताइन्। पहिलोपोस्टले प्रधानमन्त्रीले दल दर्ता गर्न लगाएको भन्ने आरोप लागिरहेको छ भन्ने प्रश्न सोध्दा उनले भनिन्, 'त्यस्तो केही थाहा छैन। टिम बनाउन दर्ता गरेको हो।'

