काठमाडौं : सरकारको कामकारवाहीको विरोधमा सत्याग्रहमा बसेका युवाहरुको आन्दोलनमा काँग्रेस नेता गगन थापाले एक्यबद्धता जनाएका छन्।
बुधवार पाटन दरबार क्षेत्रमा सत्याग्रहमा बसेका युवाहरुसँग भेटी थापाले आफ्नो साथ रहेको बताएका हुन्। 'हामी एकै ठाउँमा छौं। हामी संसदबाट लडिरहेका छौं। साथीहरु सडकबाट लडिरहेका छन्,' उनले भने।
सरकार कोरोना रोकथाममा असफल भएको र भ्रष्टाचारमा लिप्त भएको भन्दै युवा अभियन्ता ई लगायत अनशनमा छन्।
यो आन्दोलनमा सबैले आवाज थप्नुपर्ने नेता थापाले बताए। उनले भने, 'आवाजमा आवाज थप्नुपर्यो। जसले जताबाट सक्छ त्यताबाट आवाज उठाउनुपर्छ।'
देशभरबाट सबैले एक्यबद्धता जनाउन अनुरोध गर्दै थापाले आन्दोलनकारीको ध्यान यसमा नरहेको उल्लेख गरे। 'जताबाट भए पनि एक्यबद्धता जनाउनुपर्छ। सुरक्षित रुपमा। जसले यो कुरा सुन्नुपर्ने हो। उहाँहरुको प्राथमिकतामा छैन यो विषय।'
यस विषयमा आफूले संसदमासमेत कुरा उठाउने थापाले बताए। यसैगरी थापाले यस विषयमा नेपाल कम्युनिस्ट पार्टीले पनि बैठकमा सम्झनुपर्ने धारणा राखे। भने, 'यो विषय म संसदमा पनि उठाउँछु। बालुवाटारमा बैठक चलिरहेकोको छ नेकपाको त्यहाँ पनि सम्झिदिनुहोला।'