PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

आईजीपीको निर्देशन: अपराधिक कर्मविरुद्ध निर्ममतापूर्वक कारवाही गर्नुस्, नसक्नेले संगठन छोड्नुस्



पहिलोपोस्ट

आईजीपीको निर्देशन: अपराधिक कर्मविरुद्ध निर्ममतापूर्वक कारवाही गर्नुस्, नसक्नेले संगठन छोड्नुस्

ललितपुर : प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले समाजमा हुने जुनसुकै अपराधजन्य प्रवृत्ति र कर्मलाई उच्च मनोबल र दृढ इच्छा शक्तिकासाथ समाजबाट उन्मूलन गर्न नेपाल प्रहरी दृढ रहेको बताएका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित प्रहरी ब्यारेक भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले अपराधविरुद्ध प्रहरी संगठन अब्बल भएको बताए।

नागरिकको सुरक्षा र सेवा प्रवाहको लागि नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरुमा थप हौसला प्राप्त भएको उल्लेख गर्दै आईजीपी ज्ञवालीले मुलुकको समृद्धि र नागरिकको समुन्नत भविष्यका लागि सबै सरोकारवाला निकायहरु एकतावद्ध हुनुपर्ने विचार व्यक्त गरे।

उनले मुलुकको शान्ति सुरक्षा र समुन्नतिमा अवरोध गर्ने जुनसुकै तत्व, शक्ति वा समूहको गतिविधिहरुलाई निर्ममतापूर्वक कारवाही गरी निस्तेज गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए। कुनै आवरणमा रही हुने गरेका गुण्डागर्दी, मानव बेचबिखन तथा ओसारपसार, प्राकृतिक श्रोत साधनको दोहन, पर्यावरणीय विनाश र अवैध तस्करी जस्ता अपराधिक कर्मविरुद्ध सशक्त रुपमा कारवाही अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठुलो महत्व रहेको बताए। आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न-भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको उनको भनाई थियो।

कानूनको निष्पक्ष, पारदर्शी र न्यायसम्मत तवरबाट कार्यान्वयन हुन सकेमा मात्र कानूनी शासनको प्रत्याभूति सम्भव हुने बताउँदै प्रहरी महानिरीक्षक ज्ञवालीले कानून र न्यायका आधारमा जिम्मेवारी वहन गर्न नसक्ने कोही पनि व्यक्ति कानूनको रक्षक हुन नसक्ने र त्यस्ता व्यक्ति संगठन र समाजका लागि योग्य पात्र नहुने बताए। आम नागरिकको आशा र भरोसाको केन्द्रको रुपमा रहेको प्रहरी संगठनको पवित्र उद्देश्य नि:स्वार्थ राष्ट्र र नागरिकको सेवा रहेको चर्चा गर्दै उनले यस पवित्र मन्दिरमा बसी छद्मय भेषमा कोही कसैलाई अपवित्र काम, आवरण र व्यवहार गर्न छुट नरहने र त्यस्ता गलत तत्वहरुलाई संगठनबाट निर्मूल पार्न दृढ रहेको बताए।

प्रहरी महानिरीक्षक ज्ञवालीले कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको बिषम परिस्थितिमा नेपाल प्रहरीले अग्रपंक्तिमा खटिएर विचलित नभई निर्वाह गरेको भूमिकाको चर्चा गर्दै मुलुकमा आइपरेको जुनसुकै संकट, विपद् वा अन्य कुनै पनि कठिन अवस्थामा राष्ट्रले सुम्पिएको जिम्मेवारी नेपाल प्रहरीले निष्ठापूर्वक बहन गर्दै आएको बताए। साथै बिषम परिस्थितिमा पनि आम नागरिकको सेवा र सुरक्षाका लागि सबै सरोकारवाला निकायवीच आपसी एकता, धैर्यता र स्व-अनुशासन हुनुपर्ने उल्लेख गरे।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताए। नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यानदिनुपर्नेमा उनले जोड दिए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रविधिको विकास सँगसँगै समाजको गतिशिलता अनुसार नेपाल प्रहरीले आफूलाई परिवर्तन गर्दै लगेमा जनमुखी प्रहरी सेवा प्रवाहमा आफ्नो काम कारवाही गर्न सहजता हुने विश्वास व्यक्त गरे। आधुनिकिकरणसँगै नेपाल प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell