PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धानको पकेट क्षेत्र मानिने प्रदेश २ को औसत उत्पादन कम, यी कुरामा ध्यान दिए उत्पादन बढाउन सकिन्छ : विज्ञ



राधेश्याम पटेल

धानको पकेट क्षेत्र मानिने प्रदेश २ को औसत उत्पादन कम, यी कुरामा ध्यान दिए उत्पादन बढाउन सकिन्छ : विज्ञ

वीरगंज : धान नेपालको प्रमुख अन्न बाली हो। तराई मधेसका २० जिल्लामा बढी धान खेती गरिन्छ। जसमध्ये प्रदेश २ का आठ जिल्ला धान उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ।

तर, औसत उत्पादनको दृष्टिकोणले प्रदेश २ को उत्पादन राष्ट्रियको तुलनामा कम रहेको कृषि अनुसन्धान परिषद् नार्कको तथ्यांकले देखाउँछ। नेपालको वार्षिक राष्ट्रिय औसत उत्पादन प्रतिहेक्टर ३ हजार ५ सय ६ किलो रहेको छ भने प्रदेश २ को औसत उत्पादन ३ हजार ३ सय ६५ किलो प्रतिहेक्टर रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरले जनाएको छ।

‘प्रदेश २ मा अत्यधिक धान उत्पादन भए तपानि औसत उत्पादनमा पछि छौं हामी,’ केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले भने, ‘प्रदेश सरकार, स्थानीय सरकार तथा किसानले विविध पक्षमा ध्यान दिए, प्रदेश २ को धान उत्पादन गर्ने क्षमता बढाउन सकिन्छ।’

गत वर्षको तथ्याक अनुसार नेपालका विभिन्न जिल्लाको १४ लाख ६९ हजार ५ सय ४५ हेक्टर क्षेत्रफलमा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो। प्रदेश २ का आठ जिल्लाको १ लाख ८२ हजार १ सय ६७ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट १५ लाख ८५ हजार ४ सय ४३ मेट्रिक टन धान उत्पादन भएको नार्कको तथ्यांक रहेको केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत एवं सूचना अधिकृत राजेन्द्रप्रसाद यादवले जानकारी गराए।

धान बाली विशेषज्ञहरुले प्रदेश २ मा उन्नत जात, गुणस्तर युक्त बीउ, सिँचाइ र मलको उचित प्रबन्ध मिलाइए धान उत्पादनको क्षमता बढाउन सकिने सुझाव दिन्छन्।

‘कुन ठाउँको लागि कुन बीउ रोप्ने, मलखाद, सिँचाइ र गुणस्तरीय बीउमा ध्यान नदिँदा औसत उत्पादन कम देखिएको हो,’ केन्द्रका सूचना अधिकारी यादवले भने, ‘धानबालीको समस्या समाधान गर्न सके किसानको धान उत्पादनको क्षमता आफैँ बढदै जाने छ।’

नेपालमा भारतबाट अवैध रुपमा भित्रिने धानको सोना मन्सुलीको बीउमा रोग लाग्ने भएकोले पनि कति किसानको उत्पादनमा ह्रास आउने गरेको केन्द्रका विज्ञको तर्क छ।

‘नेपालको सीमावर्ती क्षेत्रमा नेपाल सरकारले प्रतिबन्ध लगाएको धानको बीउ पनि तस्करी गरेर रोप्ने चलन छ। कुल धान बीउको करिब १५ प्रतिशत बीउ भारतबाट तस्करी हुने गरेको अनुमान छ, जसले नेपाली किसानलाई घाटा पुर्‍याउँछ’ उनले भने।

नेपाल सरकारबाट सिफारिस भएका धानको प्रमुख बीउमा सभा मन्सुली सब-१, स्वर्ण सब-१, साबित्री, हर्दिनाथ-१ लगायतको धानको बीउ लगाउन किसानहरुसँग केन्द्रका बाली वैज्ञानिक दीपनारायण महतोले अपिल गरे। नेपालमा २०२३ सालदेखि ११६ वटा धानको बीउको जात सिफारिस र पञ्जिकरण भएकोमा कृषि अनुसन्धान परिषद्ले १३ वटा धानको बीउ रोगी भएर असफल भएपछि सूचिबाट हटाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell