PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

श्रमदानबाट जीर्णोद्धार हुँदै न्यातपोल

श्रमदानबाट जीर्णोद्धार हुँदै न्यातपोल

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको टौमढी स्थित न्यातपोल (ङातापोल) मन्दिर जीर्णोद्धारको काम भइरहेको छ। स्थानीयहरुको श्रमदानमा मन्दिरको जीर्णोद्धार भइरहेको हो

दैनिक सयौंको संख्यामा मानिसहरुले मन्दिर निर्माणका लागि श्रमदान गरिरहेका छन्।

हाल भक्तपुरको टौमढी क्षेत्रमा कोही माटो मुछ्दै गरेको देखिन्छन् भने कोही माटोको डल्ला बनाउँदै गरेको देखिन्छ। लाम लागेर मानिसहरु माटोका डल्ला एकले अर्कालाई दिँदै मन्दिर निर्माणमा सहभागी भइरहेका छन्।

बुधवारसम्म करिब ३ हजार व्यक्तिले मन्दिर पुनर्निर्माणमा श्रमदान गरिसकेको मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष केशज तमखुले जानकारी दिए। विभिन्न टोलबाट मानिसहरु स्वस्फूर्त रुपमा मन्दिर बनाउन सहभागी हुँदै आइरहेको उनले बताए।

मन्दिर जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउनेको भीड बढेको तमखू बताउँछन्। नेपालकै अग्लो मन्दिरको जीर्णोद्धारमा आफू सहभागी हुने पाउँदा स्थानीयहरु उत्साहित देखिन्छन्। जनश्रमदानमा अधिकांश महिलाहरुको सहभागिता रहेको छ।

२०७२ सालको भूकम्पमा क्षति पुगेको मन्दिर जीर्णोद्धारको काम गत वर्षको मंसिर महिनादेखि सुरु भएको थियो।

बुधवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति लगायतले पनि मन्दिर जीर्णोद्धारमा श्रमदान गरे। नगरपालिकाले मन्दिरको जीर्णोदारकोलागि ६५ लाख १३ हजार ३ सय ५८ रुपैयाँ छुट्याएको छ। स्थानीयले पनि मन्दिर निर्माणको लागि सहयोग गर्दै आइरहेका छन्। उनीहरुले नगददेखि निर्माणमा आवश्यक सामाग्री सहयोग गर्दै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell