PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सत्ता संकटमा ओलीका दुई विकल्प : आत्मालोचना गरेर सच्चिने कि संसदीय दलमा बहुमत पुर्‍याउने



प्रकाश भण्डारी

सत्ता संकटमा ओलीका दुई विकल्प : आत्मालोचना गरेर सच्चिने कि संसदीय दलमा बहुमत पुर्‍याउने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले ओलीको राजीनामा मागेपछि पार्टीभित्रको विवाद सतहमा आएको छ। ओलीले आफू निकटसँग बुधबार विहानैदेखि छलफल थालेका छन्।

प्रधानमन्त्रीले पदमा बस्ने हैसियत गुमाइसेकाले तत्कालै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग उठेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीविरुद्ध चर्को आवाज उठाएपछि ओलीको सत्ता संकटमा परेको हो।

एकातिर ओलीलाई पूर्व एमालेको नाममा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको आरोप समेत नेताहरुले लगाएका छन्। अर्कोतिर ६९औँ मदन भण्डारी जन्मजयन्तीमा ओलीले आफ्नै पार्टीका नेताहरुले भारतसँग मिलेर आफूलाई हटाउन लागेको बताएपछि ओलीइतरका नेता झनै चिढिएका छन्। सचिवालय बैठकमै राजीनामा मागिएको भए पनि त्यतिबेला युद्धविरामको अवस्था सिर्जना भएको थियो।

सोमबारको स्थायी कमिटी बैठकमा भने सचिवालयका अधिकांश सदस्यले राजीनामा मागेपछि ओलीको पद धरापमा परेको हो। असार १० गतेदेखि जारी बैठकमा सरकारका काम कारवाहीमाथि छलफल, कोरोना रोकथाम तथा नियन्त्रणलगायतका विषय एजेन्डा बनाइए पनि मंगलबारको बैठक एजेन्डामा प्रवेशै नगरी ओलीको पछिल्लो अभिव्यक्तिमा केन्द्रित भएको थियो। ओलीले आफ्नो बोलीको बचाउ गरे पनि स्थायी कमिटीमा मंगलबार बोलेका सबै सदस्यले राजीनामा मागेपछि उनी संकटमा परेका हुन्। अब संकट मोचनका लागि ओलीका लागि कस्ता विकल्प होलान त?

सच्चिएर सहमति पालना नत्र पद हस्तान्तरण

राजनीतिक विश्लेषक श्याम श्रेष्ठको विचारमा ओलीसँग अब समय र विकल्प सीमितमात्रै छन्।

पहिलो, सच्चिने वाचा र कार्यकारी अध्यक्ष तथा प्रधानमन्त्रीमा भएको पद बाँडफाँडको सहमति पालना। दोस्रो, आफूले विश्वास गरेको पात्रलाई पद हस्तान्तरण।

दुवै विकल्प उनका लागि कठिन रहेको श्रेष्ठ बताउँछन्। 'पार्टीमा माफी मागेर म ओभरअल सच्चिन्छु भन्ने वाचा गर्नुपर्‍यो। र, पद बाँडफाँडको सहमति पूर्ण पालन गर्नुपर्‍यो। तर यति लचिलो भएर मान्ने नेता होइनन् उनी,'श्रेष्ठले भने।

ओलीले प्रधानमन्त्री तथा पार्टी अध्यक्षको पद आफूले विश्वास गरेको व्यक्तिलाई हस्तान्तरण गरे अहिलेको संकट पार लाग्ने देख्छन् उनी। तर, ओलीले प्रचण्ड र नेपाललाई कुनै हालतमा पद हस्तान्तरण नगर्ने श्रेष्ठको ठम्याइ छ।

ओलीको संलग्नतामा एमाले दर्ता भएको करिब निश्चित भइसकेको श्रेष्ठले दाबी गरे। उनको अभिव्यक्ति र घटनाक्रमले एमाले दर्ताका लागि निवेदन दिएको पुष्टि हुने उनको तर्क छ।

पार्टी दर्ताका लागि निवेदन दिएकाले अब अहिलेकै घटनाक्रम अनुसार नेकपा अघि बढे पार्टी फुटबाट कसैले जोगाउन नसक्ने उनले बताए।

'सायद ओलीले दर्ता नगरेको भनेर भनेका छैनन्। जहाँसम्म मलाई लाग्छ मलाई राम्रो सूचना नभएको पनि हुन सक्छ। अर्को के पनि हो भने यो सबै घटनाक्रम भइरहेका बेला उनीबाहेक कसले एमाले दर्ता गर्छ त?,'उनको प्रश्न छ।

संसदीय दलमा टेस्ट नै उत्तम

तर अर्का राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भने नेकपाको स्थायी कमिटी र सचिवालयले राजीनामा माग्दैमा ओलीले राजीनामा दिनुपर्ने बाध्यता नभएको तर्क गर्छन्।

सरकार गठनको २ वर्ष पुगेदेखि नै पार्टीभित्र उत्पन्न समस्या ओलीले झेल्दै आएको उनको ठम्याई छ। अब ओलीका लागि उत्तम विकल्प संसदीय दलमा बहुमत देखाउनमात्रै भएको उनको बुझाई छ। राज्यले नेकपाको स्थायी कमिटी र सचिवालय जस्ता संरचना नचिन्ने उनको भनाई छ।

'राज्यले चिन्ने भनेकै संसदीय दल हो। म त ओलीलाई अब संसदीय दलमै आफूलाई टेस्ट गर्न भन्छु। बहुमत भएमा सरकारमा बस्ने नभए राजीनामा दिने। त्यसबाहेक त विकल्पै छैन,'उनले भने।

ओलीका लागि पछिल्लो राजनीतिक घटनाक्रमले संसदीय दलमा बहुमत नरहेको देखिएको तर्क गरे गौतमले। तर नेपाली राजनीतिमा लेनदेनले हिसाब मिल्ने भएकाले लेनदेन हुनसक्ने बताए। २०५६ सालपछि बनेको कृष्णप्रसाद भट्टराइको सरकारले झेलेको समस्या जस्तै ओलीले पनि अहिले समस्या झेलिरहेको बताउँदै उनले त्यतिबेला भट्टराईले संसदीय दलमा अल्पमतमा परेको थाहा पाएपछि राजीनामा दिएकोले ओलीका लागि पनि त्यो उत्तम विकल्प हुने उनको तर्क गरे। संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नभएकाले ओलीलाई असंवैधानिक बाटोको यात्रा कठिन हुने उनको ठम्याई छ।

उनले ओलीले योजनावद्ध तरिकाले पार्टी फुटाउन खोजेको बताए। त्यसको पहिलो प्रयास राजनीतिक दलसम्बन्धी अध्यादेश र दोस्रो एमाले दर्ता भएको उनको भनाई छ।

'त्यतिबेला पनि प्रधानमन्त्रीले पार्टी फुटाएर संसदमा बहुमत देखाउन खोजेका हुन् तर अर्को फ्याक्टरले गेम प्ले गर्‍यो र उनी पछि हटे। अहिले पार्टी फुटने सम्भावना अधिक छ। फुटेमा निर्णायक हुने कांग्रेस हो। त्यसपछि देशले ठूलो मूल्य चुकाउनुपर्ने छ,'उनले भने।

यसअघि पनि ओलीमाथि संकट पर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई बचाएको उनले बताए। तर अहिले ओलीका लागि त्यो विकल्प समाप्त भएको उनको भनाई छ।

'पहिला पनि संकट परेपछि राष्ट्रपतिले पावर सेयरिङमा कुरा मिलाइदिनुभएको हो। तर अहिलेको संकटको निकास त्यो हिसाबले निस्कने म देख्दिनँ,'उनले भने।

नेकपाका नेताहरुको झगडा वारपारकै स्थितिमा पुगेकाले अब राष्ट्रपतिले भूमिका खेल्ने सम्भावना कम भएको उनको विश्लेषण छ।

किन मडारियो ओलीमाथि संकटको बादल?

ओलीको सबैभन्दा बैरी उनको मुख भएको श्रेष्ठ बताउँछन्।

ओलीले बोल्न नजानेकैले सुनौलो अवसर गुमाएको उनको भनाई छ। छुच्चो स्वभावले आफ्ना विश्वासपात्रसमेत गुमाउँदै गएकाले संकट आइपरेको श्रेष्ठले बताए।

'उनी यतिसम्म छुच्चो रहेछन् भन्ने त पछिल्लो अभिव्यक्तिले बतायो नि। राजनीतिक भाषा बोल्ने र कूटनीतिक सामान्य कौशल भएको मान्छेका लागि ओलीको बोली निकै अनौठो हो,' उनले भने।

दुई वटा बजेट ल्याउँदा पनि ओलीले ढंग नपुर्‍याएकाले उनको कार्यक्षमता माथि प्रश्न उठ्दा समस्या थप जटिल बनेको श्रेष्ठको तर्क छ।

'अब उनको पद जोगिएमा एउटा बजेटमा मात्रै केही गर्नसक्ने सम्भावना छ। र उनको कार्यकालको अन्तिम बजेट चुनावी हुनेछ। त्यसमा दायाँबायाँको कुरै छैन। पूरै चुनाव केन्द्रित हुन्छ,' उनले भने।

राजनीतिक दलसम्बन्धीको अध्यादेशले ओलीलाई बुमर्‍याङ इफेक्ट गरेजस्तै आफ्नै पार्टीका नेतालाई लगाएको आरोप आफ्नै खुट्टामा बन्चरो हाने समान भएको श्रेष्ठको भनाई छ।

'उनी कतिसम्म अविवेकी छन् भन्ने त मैले भनिरहनु परेन। उनले चालेका कदमले नै थाहा भइहाल्छ तर मलाई अनौठो लाग्छ उनी किन आफ्नै खुट्टामा बन्चरो हान्छन्। यति थाहा नहुने मान्छे नेता हुन सक्दैन्,'उनले भने।

विश्लेषक गौतम भने ओलीको कार्यशैलीको कारणले मात्रै संकट उत्पन्न नभएको मत राख्छन्।

पार्टीमा अविश्वासको वातावरण बढ्दै जाँदा लामो अभ्यासपछि मात्रै प्रचण्ड नेपाल समूह सतहमा भिड्ने रणनीतिमा पुगेकाले धेरै विषयले संकट निम्त्याएको उनको तर्क छ। 'ओलीको शैली एउटा कारण होला तर यसमा धेरै फ्याक्टर छन्। नक्साको विषय होला,पार्टीभित्र पावर सेयरिङको कुरा पनि छ। राष्ट्रवादको विषय पनि योसँग जोडिएको विषय हो,'उनले भने।

प्रधानमन्त्रीले पार्टीका नेताको विश्वास गुमाउँदै जाँदा एकपछि अर्को राजनीतिक घटनाक्रमबाट एक्लिएको उनको भनाई छ। असंवैधानिक बाटो चाल्न पनि ओलीका लागि निकै कठिन काम हुने उनको दाबी छ।

राजनीतिमा सेफ ल्यान्डिङ गर्ने नेता नै बुद्धिमानी हुने भएकाले संसदीय दलमा टेस्ट गरेर राजीनामा गर्दा ओलीको कद बढ्ने गौतमको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell