PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कर्णाली पुग्यो सलह, ‘विषादी छर्कन सम्भव छैन, उत्तम विकल्प थाली बजाउनु नै हो’



रासस

कर्णाली पुग्यो सलह, ‘विषादी छर्कन सम्भव छैन, उत्तम विकल्प थाली बजाउनु नै हो’
फोटो : रासस

सुर्खेत : केही दिनअघि नेपालमा प्रवेश गरेको सलह कीरा कर्णालीमा आइपुगेको छ। सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका-३ दशरथपुरमा सलहको सानो समूह देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए।

उनले भने, ‘अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो।’

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ। सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पुर्‍याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताए।

‘कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन’, उनले भने, ‘सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो।’

ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरुको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell