PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको आकांक्षामा मन्त्रीहरुको ब्रेक: गल्दै ओली, उत्साहित हुँदै प्रचण्ड-नेपाल गुट



पहिलोपोस्ट

ओलीको आकांक्षामा मन्त्रीहरुको ब्रेक: गल्दै ओली, उत्साहित हुँदै प्रचण्ड-नेपाल गुट

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा गुटको द्वन्द्व जारी छ। मंगलबारको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको शीर्ष नेताबाट नै राजीनामा माग भएपछि राजनीति तरंगित छ। ओलीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग नजिक रहेका अधिकांश स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै छाड्न भनेका छन्।

मंगलबार ओलीमाथि अधिकांश स्थायी समिति सदस्यहरुबाट राजीनामा माग भएपछि बुधबारदेखि नै दुबै गुट आ–आफ्ना रणनीति  बनाउनमा व्यस्त छन्।

बुधबार बिहानै प्रधानमन्त्री ओलीले आफू निकटका स्थायी समिति सदस्य र मन्त्रिपरिषद्का सदस्यहरुसँग परामर्श गरे। ओलीले आफूसँग फरक मत राख्ने मन्त्रीहरुलाई छलफलमा बोलाएनन्। प्रचण्डसँग निकट रहेका मन्त्रीद्वय वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई ओलीले छलफलमा बोलाएनन्। अन्य गुटमा रहे पनि बाँकी मन्त्रीलाई भने ओलीले परामर्शका लागि बोलाएका थिए।

के भने मन्त्रीले?

ओलीले मन्त्रीहरुलाई आफ्नो कदमको समर्थनका लागि बोलाएका थिए। तर, मन्त्री र स्थायी समिति सदस्यहरुले ओलीको आकांक्षामा साथ दिएनन्। स्थायी समिति सदस्यमध्ये सुवास नेम्वाङ विष्णु रिमालले मात्र प्रधानमन्त्रीको इच्छा बुझे।

अन्य मन्त्री र स्थायी समिति सदस्यहरुले भने ओलीलाई नेतृत्वका हिसाबले विवाद मिलाएर जान दबाब दिए। ओलीको इच्छामा साथ दिएनन्।

परामर्शमा सहभागी मन्त्री लेखराज भट्ट, घनश्याम भुसाल, योगेश भट्टराईले प्रधानमन्त्रीलाई विवाद समाधानका लागि मिलेर जान सुझाव दिए। ओली निकटकै मन्त्रीहरुले समेत विवाद समाधानका लागि प्रधानमन्त्रीको सक्रियता आवश्यक भएको स्पष्ट पारे।

‘प्रधानमन्त्रीले त म अफ्ठेरोमा परेँ। मलाई सहयोग गर्नुस् भन्नकै लागि बोलाउनुभएको रहेछ। तर, त्यहाँ उहाँले सोचेजस्तो साथ दिन्छौँ भन्ने कोही निस्किएनन्। सबैको एकै राय भयो पार्टी जोगाउने भए सहमतिको विकल्प छैन। दुई अध्यक्षबीच समझदारी भएर जानुपर्छ भन्ने नै रह्यो। सबैको यही राय नै रह्यो’, छलफलमा सहभागी एक मन्त्रीले भने।

प्रचण्ड–नेपाल गुट उत्साहित

प्रधानमन्त्रीले आफू निकटकै स्थायी समिति सदस्य र मन्त्रीबाट समेत आश्वस्त हुने वचन नभएपछि प्रचण्ड–नेपाल समूह भने थप उत्साहित भएको छ। किनकी ओलीसँग निकै निकट रहेका स्थायी समिति सदस्यहरु समेत ओलीलाई विवाद मिलाएर जान दबाब दिइरहेका छन्।

ओलीसँग दुईमध्ये एक पद छाड्नेमात्र सहमतिको विकल्प भएको प्रचण्ड नेपाल समूहको अडान छ। उक्त समूहले सकेसम्म ओलीलाई प्रधानमन्त्रीबाट हटाउने विकल्पलाई पहिलो प्राथमिकतामा राखेको छ। ओलीलाई पार्टी अध्यक्षमा सीमित राख्नेमात्र विकल्प प्रचण्ड–नेपाल समूहले दिन चाहेको छ।

ओलीसँग यतिबेला स्थायी समितिमा रहेका सुवास नेम्वाङ र विष्णु रिमाललेमात्र कुनै पनि पद नछाड्न साथ दिइरहेका छन्। बाँकी ओली निकटकै स्थायी समिति सदस्यहरु समेत विवाद समाधानका लागि मिल्न दबाब दिइरहेका छन्।

ओली कमजोर हुँदै जाँदा बिहीबारको बैठकको रणनीति समेत प्रचण्ड नेपाल समूहले बनाएको छ।

बुधबार साँझ ललितपुरको एक रेष्टुरेन्टमा प्रचण्ड–नेपाल समूहले बैठकको रणनीति बनाएको छ। स्थायी समितिबाट ओलीलाई राजीनामाका लागि बाध्य पार्ने नीतिमा गुट यथावत छ। साथै, ओलीलाई दुईमध्ये एक पद छाड्का लागि दबाब दिने रणनीतिमा छ।

पार्टी निर्णय नमानेमा अनुशासनको कारबाहीको हदसम्म जानेबारे पनि उक्त भेलामा छलफलको भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell