इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा इन्टर मिलानले ब्रेसियामाथि ६-० को फराकिलो जित निकालेको छ। जिउसेप्पे मिएज्जा स्टेडियममा भएको खेलमा घरेलु टोली इन्टरले ब्रेसिया माथि ६-० को फराकिलो जित निकालेको हो।
इन्टरको जितमा एस्ले योङ, एलेक्सिस सान्चेज, डानिलो डि एम्ब्रोसियो, रोबेर्टो गाग्लिआर्डिनी, क्रिस्टियन इरिक्सन र एन्टोनियो क्यानड्रेभाले गोल गरे।
खेलको पाँचौं मिनेटमै योङको गोलबाट अग्रता लिएको इन्टरका लागि २० औं मिनेटमाम पेनाल्टीमार्फत सान्चेजले दोस्रो गोल गरे। त्यस्तै एम्ब्रोसियोले ४५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा इन्टर ३ गोलले अघि रहेको थियो।
त्यस्तै दोस्रो हाफमा गाग्लिआर्डिनीले गोल थपे। उनले ५२ औं मिनेटमा गोल गर्दा इरिक्सनले ८३ औं र क्यानड्रेभाले ८८ औं मिनेटमा गोल गरे।
जितसँगै इन्टर मिलान अंक तालिकाको तेस्रो स्थानमा यथावत छ। मिलानले २९ खेलबाट ६४ अंक जोडेको छ। त्यस्तै ब्रेसिया १८ अंकजोड्दै तालिकाको पुछारमा छ।
सिरि ए को शीर्ष स्थानमा रहेको युभेन्टसको ७२ अंक छ भने दोस्रो स्थानमा रहेको लाजियोको ६८ अंक छ।
