PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सेनालाई पछि हटाउन चीन र भारत सहमत, सीमाको तनाव कम हुने संकेत



पहिलोपोस्ट

सेनालाई पछि हटाउन चीन र भारत सहमत, सीमाको तनाव कम हुने संकेत

सीमामा तैनाथ रहेका सैनिकहरुलाई पछि हटाउन चीन र भारत दुवै मुलुक सहमत भएका छन्। चिनियाँ पत्रिका ग्लोबल टाइम्सले चिनियाँ सैनिक स्रोतलाई उदृत गर्दै सीमाको तनाव कम गर्नका लागि दुई देशबीच यस्तो सहमति भएको जनाएको छ।

चिनियाँ र भारतीय सीमामा खटिएका सेनाका कमाण्डर तहमा तेस्रो चरणको वार्ता भएको थियो। वार्तामा दुवै पक्ष खुला रुपमा प्रस्तुत भएको र गहन छलफल भएको पत्रिकाले जनाएको छ। छलफलमा अहिलेको सीमाको अवस्थालाई प्रभावकारी रुपमा कसरी सुल्ट्याउने भन्ने विषयमा कुराकानी भएको थियो। समस्याको स्थायी समाधान र द्वीपक्षीय समझदारीलाई बढावा दिनेगरी काम अगाडि बढाउनुपर्नेमा दुवै पक्ष सहमत भएको हो।

दुवै पक्षले सीमामा तैनाथ भएका सैनिकहरुलाई पछि सार्ने र त्यसपछि अवस्थालाई सहजीकरण गर्नका लागि आवश्यक कदम चाल्ने जनाएका छन्। सैनिक स्रोतका अनुसार सबैभन्दा महत्वपूर्ण विषय चाहिँ वार्तामा बसेका दुवै पक्षमा समस्या सुल्झाउने विषयमा एक छन्।

बेइजिङमा रहेको सिङहुवा विश्वविद्यालयको नेसनल स्ट्राटिजी इन्स्टिच्युटका निर्देशक क्वेन फेङलाई उदृत गर्दै ग्लोबल टाइम्सले सीमामा दुई पक्षबीचको रक्तपातपूर्ण भिडन्तपछि पुन: सकारात्मक संकेतहरु मिलेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्त झाओ लिजियानले नियमित प्रेस ब्रिफिङमा चीन र भारतबीच सीमामा खटिएका सैनिक र सीमाको अवस्थाको विषयमा भइरहेको वार्ता सकारत्मक दिशामा अगाडि बढेको जनाएका छन्।

चिनियाँ र भारतीय सेनाबीच भएको दोस्रो चरणको वार्ता असफल भएपछि भारतले सीमा क्षेत्रमा सैनिक संख्या बढाएको थियो। गलवान उपत्यकाको विषयमा भारतीय र चिनियाँ सैनिकबीच मुठभेड हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने २ चिनियाँ सैनिकको पनि ज्यान गएको थियो।

दुई मुलुकबीचको तनाव कम गर्नका लागि भएको सैनिक अधिकारीबीचको वार्तालाई चीनले सकारात्मक भएको बताउँदै भारतलाई त्यसको पालनाका लागि आग्रह गरेको छ।

भारत र चीन दुवैले सीमा क्षेत्रमा सैनिक स्रोत साधन यति धेरै संख्यामा पुर्‍याएका छन् कि दुवै मुलुकले सहमति गरेर तिनलाई फिर्ता गराउन पनि समय लाग्ने छ। समुन्द्री सतहभन्दा झन्डै ५ हजार मिटर उचाईमा सीमा विवाद देखिएको हो। अबको एक दुई महिनापछि नै चिसोका कारण उक्त क्षेत्रमा मानिस बस्नसमेत सक्ने अवस्था रहन्न। मानव बस्ती नरहेको यस विवादित क्षेत्रमा चीन र भारत दुवैले आफ्नो दावी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell