स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल बेटिसमाथि २-० को सहज जित निकालेको छ। बेनिटो भिल्लामरिन स्टेडियममा भएको खेलमा घरेलु टोली रियल बेटिसमाथि भिल्लारियलले जित निकालेको हो।
भिल्ला रियलको जितमा दुवै गोल जेरार्ड मोरोनोले गरेका थिए। खेलको ७ औं मिनेटमै पेनाल्टीमार्फत अग्रता बनाएको भिल्लारियलका लागि मोरोनोले नै दोस्रो गोल गरे। उनले खेलको ३० औं मिनेटमा कार्लोस बाक्काको पासमा गोल गर्दे टिमलाई २ गोलको अग्रता दिलाए। पहिलो हाफको अतिरिक्त समयमा बेटिसका नबिल फकिर रातो कार्ड खाँदै बाहिरिए पछि १० खेलमा सीमित घरेलु टोली खेलमा फर्कन सकेन। दोस्रो हाफमा कुनै गोल नहुँदा भिल्ला रियलले २-० को सहज जित निकाल्यो।
त्यस्तै गएराति नै भएको अर्को खेलमा एथ्लेटिक बिल्बाओले भ्यालेन्सियमा माथि २-० को जित निकाल्यो। एथ्लेटिकको जितमा रउल गार्सियाले दुवै गोल गरे। उनले खेलको १३ औं र ४७ औं मिनेटमा गोल गर्दा एथ्लेटिक क्लबले २-० को जित निकाल्यो।
यो सँगै भिल्ला रियल ५४ अंक सहित पाँचौं स्थानमा छ भने एथलेटिक क्लब ४८ अंकसहित सातौं स्थानमा छ। त्यस्तै भ्यालेन्सिया ४६ अंकसहित १० औं स्थानमा छ भने बेटिस ३७ अंकसहित १३ औं स्थानमा छ।
