PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

के काठमाडौं उपत्यका छिर्न कठिन भएकै हो? फर्काइएका गाडी कहाँ पुगे त?



पहिलोपोस्ट

के काठमाडौं उपत्यका छिर्न कठिन भएकै हो? फर्काइएका गाडी कहाँ पुगे त?

काठमाडौं : सरकारले लकडाउनको नयाँ मोडालिटी लागू गरेपछि काठमाडौँ उपत्यकाभित्र छिर्न थप कडाइ गरेको बताइरहेको छ। तर पनि विभिन्न तरिकाले उपत्यकाभित्र छिर्ने मानिसको सङ्ख्यामा कमी आएको छैन।

अहिले काठमाडौँ उपत्यकाभित्र छिर्नका लागि आउनु पर्ने व्यक्तिले स्थानीय तहको अनुमति पाएपछि सम्बन्धित जिल्लाले जारी गरेको पास अनिवार्य रुपमा लिनुपर्छ। तर यो नियम लागू भइरहेको छैन। उपत्यकाभित्र छिर्ने विभिन्न नाकाबाट सवारी साधन भित्रिनेक्रम जारी छ। यसैगरी भित्रिएकामध्ये केहीलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको छ।

गृह मन्त्रालयको तथ्याङ्कलाई मान्ने हो भने काठमाडौं प्रवेश गर्न सजिलो चाहिँ छैन। बुधवार नाकाबाट प्रक्रिया पूरा नगरी आएका करिब ४ सय सवारी साधनलाई फिर्ता पठाएको गृह मन्त्रालयले जानकारी दिएको छ। सबैभन्दा धेरै सवारी साधन भक्तपुरको जगातीबाट फिर्ता भएका छन्। १ सय २३ वटा चार पाङ्ग्रे र १ सय ३० वटा दुई पाङ्ग्रे सवारी साधन फिर्ता गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, ७२ वटा सवारी साधनलाई होल्ड गरेर राखिएको छ। यी सवारी साधनमा ४ सय ८७ यात्रु विभिन्न जिल्लाबाट आएका थिए।

त्यस्तै, फर्पिङ नाकाबाट पनि कागजपत्र नभएका सवारी साधनलाई फर्काइएको गृहले जानकारी दिएको छ। ६ वटा चार पाङ्ग्रे सवारी साधनलाई फर्काइएको छ। जसमा एउटा एम्बुलेन्स पनि रहेको छ। एम्बुलेन्समा चार जना यात्रु आएका थिए। सोही नाकाबाट २० वटा दुई पाङ्ग्रे सवारी साधनलाई पनि फिर्ता पठाइएको हो।

सबैभन्दा धेरै सवारी साधन उपत्यका भित्रने नागढुंगा नाकाबाट पनि सवारी साधनलाई फिर्ता गरिएको छ। १ सय ११ वटा सवारी साधन फिर्ता हुँदा ४६ वटा चार पाङ्ग्रे रहेका छन्। यसरी फिर्ता हुने सवारी साधनमा बस, ट्याक्सी, ट्रक समेत रहेको गृहले जानकारी दिएको छ। बुधवारमात्र ३ सय ८९ वटा सवारी फिर्ता पठाएको हो।

अहिले उपत्यकाका विभिन्न नाकाहरूबाट दैनिक ३ हजार भन्दा बढी सवारी साधन काठमाडौँ उपत्यकाभित्र छिर्ने गरेका छन्।

नाकामा खटिएका सुरक्षाकर्मीले यसरी फर्काए पनि उनीहरु कहाँ गए त? नाकाबाट फर्काएपछि उनीहरु सोझै जहाँबाट आएका थिए त्यतै फर्किए अथावा बैकल्पिक उपायबाट फेरि काठमाडौं नै छिरे? यसको जवाफ भने न प्रहरीसँग छ न त गृह प्रशासनसँग नै।

नाकामा प्रहरी चेकिङ भन्दा तलतिरै ओर्लिएर बैकल्पिक बाटो समातेर काठमाडौं पस्नेहरु उत्तिकै छन्। गृह मन्त्रालयको तथ्याङकले काठमाडौं प्रवेश गर्न जति असज छ भनिरहेको छ, यहाँ भित्रिरहेका मानिसको संख्याले भने त्यसको खिल्ली उडाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell