क्रिकेट विश्वकप २०११ को फाइनलमा फिक्सिङ भएको भन्ने विषय थप पेचिलो बन्दै गएको छ। श्रीलंकाका पूर्व खेलमन्त्री महिंन्दान्द अलुथगामनेले फाइनल खेल केही पार्टीहरुले फिक्स गरेको आरोप लगाएसँगै श्रीलंकाको पूर्व राष्ट्रिय चयन समितिका अध्यक्ष अरविन्दा डिसिल्बामाथि प्रश्न उठेका थिए।
अलुथगामनेले उक्त विश्वकपको भारतसँगको फाइनल खेलमा म्याच फिक्सिङ भएको आरोप लगाउँदै आएका छन्। यद्यपि, उनलाई श्रीलंकन टिमका तत्कालीन कप्तान कुमार सांगाकारा, महेला जयबर्धने लगायतले प्रमाण देखाउन चुनौती दिँदै आएका थिए।
सन् २०११ को टिम छनोट समितिका प्रमुख अरबिन्दालाई मंगलबार प्रहरीले ६ घन्टा लामो सोधपुछपछि छाडेको थियो। अलुथगामनेले फिक्सिङको दाबी गरे पनि पछि ‘शंका’ भएको भन्दै पन्छिएका थिए। उनीबाहेक सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा टिमका सदस्य रहेका अर्जुन रनातुङ्गाले पनि यसअघि नै आफूलाई सन् २०११ को फाइनलको नतिजामा ‘डाउट’ रहेको भन्दै अनुसन्धानको माग गरेका थिए।
श्रीलंकाको एक विशेष जाँच एकाइले उनको बयान लिएको थियो। सन् १९९६ मा श्रीलंकाले विश्वकप जित्दा फाइनलमा सिल्भा म्यानअफ दी म्याच घोषित भएका थिए। मंगलवार प्रहरीले उनको लामो बयान लिएको हो।
अलुथगामनेको फिक्सिङको आरोपसँगै डिसिल्भाले आइसीसी, श्रीलंका क्रिकेट बोर्ड र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई छानविनका लागि आग्रह गरेका थिए। कोभिड १९ को महामारी चलिरहँदा पनि बीसीसीआईको जाँचको एउटा प्रकृयामा सहभागी हुन भारत जान आफू तयार रहेको बताएका थिए।
उनको बयान लिएपछि श्रीलंकन टिमका तत्कालिन कप्तान कुमार सांगाकारालाई खेल मन्त्रालयको विशेष जाँच समितिमा बयानको लागि बोलाइएको छ। यो समितिले विश्वकप फाइनलमा म्याच फिक्सिङका कारण श्रीलंकाले हार ब्यहोरेको हो या त्यस्तो अफवाह मात्र हो भनेर अनुसन्धान गरिरहेको छ।
‘आजबाट हामीले संभावित फिक्सिङ (२०११ विश्वकप) बारे अनुसन्धान सुरु गरेका छौं,’ जाँच समितिका प्रमुख जगथ फोनसेखाले बयान लिएर बाहिर निस्किँदै गर्दा सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘अरबिन्द डी सिल्भाको आजको बयानपछि हामीले त्यतिबेलाका खेलाडी उपुल थरंगाको बयान लिने निर्णय गरेका छौं।’
श्रीलंकाका स्थानीय संचार माध्यमका अनुसार उनलाई बिहीवार ९ बजे जाँच समितिले बोलाएको छ।
अर्कातर्फ इएसपीएनले आइसीसीको उच्च अधिकारीहरुलाई उदृत गर्दै सम्भावित फिक्सिङबारे कुनै गुनासो नआएको दाबी गरेको छ। त्यस्तै, आइसीसीको एन्टी करप्सन युनिट (एसियु)ले पनि उक्त म्याचलाई लिएर कुनै सन्देह रहेको उल्लेख गरेको छैन।
२ अप्रिल २०११ मा भएको विश्वकप फाइनलमा श्रीलंकालाई ६ विकेटले हराउँदै भारतले विश्वकप उचालेको थियो। उक्त म्याचमा टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकाले महेला जयवर्धनेको शतकको सहयोगमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको भारतले गौतम गम्भीरको ९७ रन र महेन्द्रसिंह धोनीको ९१ रनको सहायतामा ४८ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। श्रीलंकाको कमजोर फिल्डिङका कारण भारतले सहजै पुनरागमन गरेको कारण पनि उक्त म्याचमा ‘डाउट’ भएको बताइएको छ।सन् २०१८ मा पनि श्रीलंकन क्रिकेटरहरुमाथि इङ्ग्ल्यान्डसँगको टेस्टलाई लिएर म्याच फिक्सिङको अनुसान्धान आइसीसीले गरेको थियो।
श्रीलंकन क्रिकेट बोर्डले केही हप्ता अघि आइसीसीले केही खेलाडी (हाल राष्ट्रिय टिममा नरहेका) माथि अनुसन्धान गरिरहेको जनाएको थियो।
