काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ पेप्सीकोलामा दुई जना एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका छन्। ३५ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा आफू बस्दै आएको कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
चार महिनादेखि दुई जना सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बुधवार महिलाले लगाउने सललाई पासो बनाएर दुवै जना कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्। कोठाको झ्याल जस्तो ठाउँमा चुन्नी (सल) को पासो अड्काएर झुन्डिएको अवस्थामा उनीहरु भेटिएका हुन्।
घटनास्थलबाट प्रहरीले सुसाइट नोटसमेत बरामद गरेको छ। नोटमा उनीहरुले आफैंले मृत्यु रोजेको लेखेका छन्।
'मेरो मृत्युको कारण म आफैं हु। थप खोजी नगर्नुहोला' भन्ने लेखेको भेटियो,' महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतले भने।
दुवैको शव पोस्टमार्टका लागि शिक्षण अस्पताल लगिएको छ। प्रहरीले अनुसन्धान नसकेकाले अहिले नै आत्महत्या नै हो भन्ने अवस्था भने छैन।
'आत्महत्या नै हो भन्न चाहिँ अनुसन्धान नै सक्नुपर्ने हुन्छ,' डिएसपी बस्नेतले भने।
सरकारले घोषणा गरेको लकडाउनको तीन महिनाको अवधिका देशभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्। सबैभन्दा धेरै मानिसले झुन्डिएर नै आत्महत्या गरेका छन्। हाम फालेर हत्या गर्ने मानिसको सङ्ख्या निकै न्युन छ।
