PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

खुमलटार बैठकले ओलीको विषयमा के निकाल्यो निष्कर्ष?



पहिलोपोस्ट

खुमलटार बैठकले ओलीको विषयमा के निकाल्यो निष्कर्ष?

काठमाडौं : पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्षकमल दाहाल 'प्रचण्ड'ले निवास खुमलटारमा ओली निकट नेताहरुसँग छलफल गरेका छन्। छलफलमा सहभागीहरुले पार्टीमा मिलेर जानुको विकल्प नभएको बताएका छन्।

'ठोस निर्णय त भएन। पार्टीमा मिलेरै जानुपर्छ। समस्या समाधानका लागि दुई अध्यक्ष छलफल गरेर गर्नुपर्छ भन्ने कुरा भएको छ,' बैठकपछि नेकपा नेता पम्फा भुसालले भनिन्।

बैठकमा सहभागी ओली पक्षका नेताहरुले पार्टीलाई फुटबाट रोक्नुपर्ने बताएका छन्।

छलफलमा ओली पक्षका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल, सल्लाहकार विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए।

त्यस्तै, प्रचण्ड सहित प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाल लगायत सहभागी थिए।

बुधवार ललितपुरको झम्सिखेलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित ३१ जना स्थायी कमिटी सदस्यबीच छलफल गरेका थिए।

भेलाले ओलीविरुद्ध एकमत भएर अघि बढ्ने र उनले पार्टीको निर्णय मान्न बाध्य पार्ने रणनीति लिएको थियो। बुधवार बिहान ओलीले पनि केही मन्त्री तथा आफू निकट नेताहरुसँग वर्तमान परिस्थिति आगामी रणनीतिबारे छलफल गरेका थिए।

ओलीले पार्टीको बैठक अघि नै छलफल गरेकाले प्रचण्ड-नेपाल समुहले पनि छलफल गरेको नेताहरु बताउँछन्।

बुधवार ५ जना स्थायी कमिटी सदस्यले धारणा राखेपछि स्थगित भएको बैठक आज पनि बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell