PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

डडेल्धुरामा चन्दा संकलन गरी पीसीआर मेसिन जडान,  कोरोना परीक्षण प्रयोगशाला चाँडै सञ्चालनमा आउने



एम बम

डडेल्धुरामा चन्दा संकलन गरी पीसीआर मेसिन जडान,  कोरोना परीक्षण प्रयोगशाला चाँडै सञ्चालनमा आउने

कैलाली : सुदूरपश्चिमको डडेल्धुरामा चन्दा संकलनबाट पीसीआर मेसिन खरिद गरी जडान गरिएको छ। नागरिकस्तरबाट चन्दा संकलन गरी बुधवार जडान सम्पन्न भएको पीसीआर मेसिनमा अहिले मेसिनको भ्यालिडेसनको काम चलिरहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाहीले बताए।

उनी अहिले उक्त मेसिन जडानका लागि डडेल्धुरामै छन्। ‘मेसिनको भ्यालिडेसनको काम चलिरहेको छ,’ उनले भने, ‘धनगढी प्रयोगशालामा परीक्षण भएका नमुनाहरुको पुनः परीक्षणपश्चात मेसिन अब मेसिन पूर्ण रुपमा सञ्चालन गर्नेगरी तयारी भइरहेको हो।’

ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्वारा अभियान सञ्चालन गरी चन्दाबाट उक्त प्रयोगशाला स्थापना भएको हो।

धनगढी प्रयोगशालामा परीक्षण गरिएका स्वाबका नमूनाहरुको पुन परीक्षण गरेर मेसिन सन्चालनमा आएको र बिहीवारदेखि मेसिन पूर्ण रुपमा सन्चालनमा आउने डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाले बताए। अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसाल, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज रमेश शाही र काठमाडौंबाट आएका इञ्जिनियरसहितको टोलीले मेसिनको गुणस्तर परीक्षण गरिहेका उनको भनाई छ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका इञ्चार्ज शाहीले गुणस्तर परीक्षणका क्रममा डडेल्धुरामा संकलित स्वाबसमेत परीक्षण गरिने बताए। तर ती परिक्षण गरिएका स्वाबको नमूनालाई धनगढीस्थित प्रयोगशाला पुनः परीक्षण गरिने उनको भनाई छ।

पीसीआर मेसिन सञ्चालनमा आएको खबरले अत्यन्त उत्साही भएका ह्युमानिटी फाउण्डेसनका संस्थापक अध्यक्ष श्याम तायलले भने, ‘आज हाम्रो एउटा मिसन पुरा भएको छ। यसले कोरोना परीक्षणबाट बञ्चित सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दालाई ठूलो राहत मिल्नेछ।’

तीन साताअघि धनगढीबाट शुरु भएको सहयोग संकलन अभियान त्यसको केही दिनमै विश्वव्यापी भएको थियो। यो अभियानमा विश्वका बिभिन्न मुलुकमा रहेका सुदूरपश्चिमेली अगुवा र सुदूर पश्चिम समाजहरुले साथ दिएका छन्।

करिब ९६ लाख रुपैयाँमा स्थापना भएको यो मेसिनले एक सिफ्टमा ९६ जना र एक दिनमा तीन सय ८४ जनाको स्वाबको नमूना परीक्षण गर्न सकिने बताइएको छ। मेसिनको सम्पूर्ण खर्च ह्युमानिटी फाउन्डेसनले व्यहोर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell